समाज


पाल्पाको रामपुरमा ‘कपडा बैंक : गरिब, विपन्नलाई सित्तैमा कपडा

पाल्पाको रामपुरमा ‘कपडा बैंक :  गरिब, विपन्नलाई सित्तैमा कपडा

नेपालखबर
भदौ १५, २०७६ आइतबार ५:१६,

गरिब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ।

रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो।

कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तैः सारी, चोलो, पेटिकोट, कुर्था सुरुवाल, सल, टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्टलगायतका तयारी कपडा राखिएको छ। रामपुर युवा क्लबको कार्यालयमा विभिन्न व्यक्तिबाट संकलन भएका कपडा जम्मा गरेर राखिने र इच्छुक व्यक्ति आफैँले गएर रोजेर लैजानसक्ने व्यवस्था मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताए।

उनका अनुसार कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइनेछ। कर्मचारी र क्लबसँग सम्पर्क गरेर सित्तैमा कपडा लैजान सकिनेछ। कपडा बैंकमा नयाँ र पुराना, सुकिला र सफा लुगा मात्र संकलन गरिएको छ।

गरिब र असहायका लागि सहयोग पुगोस् भनेर कपडा बैंक स्थापना गरिएको क्लबका अध्यक्ष छमबहादुर दरै बताउछन्।

‘विभिन्न भैपरी आउने घटना, विपन्न परिवारलाई राहतस्वरुप रामपुरमा कपडा बैंकको शुरुआत गरेका हौँ’, उनले भने। सामाजिक हितका लागि यो कार्य राम्रो रहेकाले नगरपालिकाले सक्दो सहयोग गर्दै जाने र हाललाई नगरपालिकाको तर्फबाट रु ५० हजार सहयोग गर्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए।

आपत्विपत परेका, गरिब, विपन्न व्यक्तिका लागि यो कार्यक्रमले सहयोग पुग्ने र उद्योग वाणिज्य संघले पनि यस कार्यक्रम सञ्चालन गर्न सक्दो सहयोग गर्ने रामपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए।

रामपुरका विभिन्न बजारका पसलमा नबिकेका, गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा संकलन गरेर कपडा बैंकमा जम्मा गर्ने व्यापारीले बताएका छन्। घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा लगिएको छ। रामपुरमा ‘कपडा बैंक’ स्थापना भएपछि गरिब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .