त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरका लागि उडान भर्ने तयारीमा रहेको सिल्क एयरबाट शनिबार राती अफलोड गरिएका गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट र उनकै कम्पनीका सल्लाहकार सनत न्यौपानेको विषयमा सो वायुसेवा कम्पनीमा छलफल भएको छ।
मदिराले मात्तिएर जहाज प्रवेश गरेका विश्वभरिका नेपालीको छाता संगठन एनआरएनएका अध्यक्ष भट्ट र न्यौपानेलाई शनिबार बेलुकी सो वायु सेवा कम्पनीले डिपोर्ट (निस्कासन) गरेको थियो। उनीहरु उडान नं. ४१३ मार्फत् सिंगापुर जाँदै थिए।
जहाजभित्र चालक दल सदस्यलाई दुव्र्यवहार गरेको आरोपमा निकालिएका उनीहरुले टिकट रकम फिर्ताका लागि सिल्क एयरको काठमाडौंस्थित कार्यालयमा निवेदन दिएका छन्। सो विषयमा निर्णय लिनुअघि उनीहरुले जहाजभित्र के कस्तो हर्कत गरेका हुन् भनेर खोजबीन भएको हो।
कतिपय वायुसेवाले मदिरा सेवन गरी जहाजभित्र हर्कत गर्नेलाई सधैँका लागि आफ्नो एयरलाइन्सका उडानमा प्रतिबन्ध लगाउने नियम बनाएका छन्। सिंगापुर एयरलाइन्सको मदिराले मात्तिएर विमानबाट ओरालिएका यात्रुको हकमा टिकट रकम फिर्ता नगर्ने नीति छ।
पैसा फिर्ता नहुने भएपछि भट्टले अर्को टिकट मिलाइदिन आग्रह गरेका छन्। त्यही अनुसार वायुसेवाको काठमाडौं कार्यालयले विवाद सल्टाउन काम गरिरहेको हो।
‘शनिबार रातिको घटनामा वायुसेवाको दोष अथवा प्राकृतिक प्रकोपका कारण भएको होइन। सिंगापुर एयरलाइन्सको नीतिअनुसार ड्रङ्क केसमा रिफन्ड हुने व्यवस्था छैन’, स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँहरु प्रतिष्ठित नेपाली भएकाले यो विषयलाई कसरी सल्ट्याउने भनेर छलफल गरिरहेका छौं। कर्पोरेट कार्यालयसँग परामर्शमा छौं।’
निर्णयको हकमा काठमाडौं कार्यालयले सिंगापुरकै निर्देशन पालना गर्नुपर्ने हुन्छ।
दुवैले सिल्कको बिजनेस श्रेणीको टिकटमा लिएका थिए। इकानोमीभन्दा यो झन्डै दोब्बर महँगो टिकट हो। ‘बिजनेस क्लासको टिकट भएकाले शुल्क कटाएर अर्को टिकट प्रदान गर्न सकिन्छ तर ड्रङ्क केस भएकाले हामी सिंगापुरको निर्णय पर्खिरहेका छौं। सम्भवतः आज कुरा मिल्छ होला’, स्रोतले भन्यो।
बिजनेस श्रेणीको टिकटका यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित होटल र्याडिसनको लाउन्जमा मदिरा र खानपानको शुल्क तिर्नु पर्दैन। जहाजमा प्रवेश गर्नुअघि उनीहरुले त्यहीँ मदिरा सेवन गरेको विमानस्थलस्थित स्रोतहरु बताउँछन्।
सामान्य विवादमा निस्कासन गरियोः न्यौपाने
शनिबार राती करिब १० बजे सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर उड्न तयार थियो। त्यो उडानका यात्रुमध्ये थिए, एनआरएन अध्यक्ष भट्ट र उनका सल्लाहकार न्यौपाने। उनीहरु मदिराले मात्तिएको अवस्थामा जहाजभित्र प्रवेश गरेका थिए।
जहाजभित्र प्रवेश गर्नासाथ उनीहरुको चालक दल सदस्यसँग सामान्य भनाभन भयो। त्यति बेलै जहाज क्याप्टेनले लिखित सूचना जारी गर्दै दुवैलाई जहाजबाट ओराले।
नेपालखबरसँगको कुराकानीमा न्यौपानेले आफूहरुले विमानका चालकदलका सदस्यसँग कुराकानी गरिरहेका समयमा क्याप्टेनले निस्कासन निर्देशन दिएको बताए। मदिरा सेवन गरे पनि मातेको अवस्थामा नरहेको उनको दाबी छ।
‘हामीले मदिरा पिए पनि समान्य अवस्थामै थियौं, मातेका थिएनौं’, न्यौपानेले नेपालखबरसँग भने ‘चालक दलका एकजना भाइसँग सामान्य विवादमा अफलोड गरियो, हामी आफैँ अचम्ममा परेकाछौं।’
सीसीटीभी फुटेज हेर्दा समेत दुवै सामान्य अवस्थामै विमानस्थल र अध्यागमन सुरक्षा जाँच पार गरेर गएको देखिएको प्रहरीको भनाइ छ।
विमानस्थल प्रहरीका अनुसार निस्कासनपछि पनि दुवैले प्रहरी र विमानस्थल कर्मचारीसँग सामान्य व्यवहार गरेका थिए।
‘हामीलाई जानकारी आएपछि विमानबाट ओरालेर बाहिरसम्म ल्याएका हौं,’ विमानस्थल प्रहरी स्रोतले भन्यो ‘विमानमा के भयो त्यो हामीलाई थाह भएन।’
सिल्क एयरको काठमाडौंबाट उड्ने समय ९ः५० हो। सो दिन लफडा परेपछि उडान करिब एक घन्टा ढिलो भएको थियो।

प्रतिक्रिया