ad ad

समाज


रविसहित ३ जनालाई थुनामा राख्न दिएको म्याद सकिँदै, अब के हुन्छ?

रविसहित ३ जनालाई थुनामा राख्न दिएको म्याद सकिँदै, अब के हुन्छ?

नेपालखबर
भदौ ८, २०७६ आइतबार ८:२७,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनताको थुनामा राख्न अदालतले दिएको म्याद आज सकिँदैछ। अदालतले दुई पटक गरेर उनीहरुलाई १० दिन थुनामा राख्न समय दिएको थियो।

प्रहरीले २०७६ साउन ३१ र भदौ ३ गरी दुई पटक अदालतबाट ५–५ दिनको म्याद थप गरेको थियो।

प्रहरीले बुझायो रायसहितको फाइल
घटना अनुसन्धान गरेको चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बुझाएको छ। प्रहरी प्रतिवेदनमा रवि लामिछाने, युवराज कँडेल तथा रुकु भनिने अस्मिता कार्कीलाई मुलुकी अपराध संहिताको धारा १८५ अर्थात् आत्महत्या दुरुत्साहनमा कानुनी कारवाही अघि बढाउन सिफारिश गरिएको छ।

‘घटनामा कसको कसुर कति भनेर श्रेणी छुट्याएरै राय दिएका छौं’, चितवनमा गएर घटना अनुसन्धान गरेका सीआइबीका एसपी दीपक रेग्मी भन्छन्, ‘शालिकरामले न्युज २४ छोडेपछि पक्राउ परेकाहरुको सम्पर्क र गतिवधिले दुरुत्साहन भएको आधार देखिएको प्रमाणसहित मिसिलमा संलग्न गरेर बुझाएका छौं।’

अब के हुन्छ?
प्रहरीले आइतबार कार्यालय खुलेको केही समयपछि नै जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रायतसहितको प्रतिवेदन बुझाएको छ। सरकारी वकिलले प्रहरी प्रतिवेदन तथा तथ्यहरुको अध्ययन गरिरहेका छन्। सोही प्रतिवेदन आधारित भएर सरकारी वकिलले कानुनी ढाँचामा मुद्दा लेख्नेछन्।

‘हामी प्रतिवेदन अध्ययनकै क्रममा छौं। समय पुगेको खण्डमा आजै मुद्दा जिल्ला अदालतमा पेश गर्नेछौं’, जिल्ला सरकारी वकिलको कार्यालय चितवनका न्यायाधिवक्ता यदुनाथ शर्माले नेपालखबरसँग भने।

आजै अदालतमा मुद्दा दर्ता भएमा त्यसपछि थुनछेक बहस हुनेछ। सरकारी वकिलले मुद्दा परिपक्व बनाउन थप अध्ययन जरुरी भएको बताए अदालतले फेरि रविसहित तीनै जनालाई थुनामै राख्ने म्याद थप्नेछ। यसरी थपिने म्याद धेरै लामो अवधिको भने हुने छैन।

अदालतमा मुद्दा दर्ता भएको खण्डमा आज जिल्ला अदालत चितवनमा थुनछेक बहस हुनेछ। रवि पक्षका वकिल र सरकारी वकिलले आ–आफ्नोतर्फबाट तर्क राख्छनेछन्। रविका वकिलहरुले थुना बाहिर बसेर न्यायिक प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग गर्नेछन्। रविको पक्षमा बहस गर्न करिब एक दर्जन वकिल चितवनमै छन्। सरकारी वकिलले प्रहरीले संकलन गरेका तथ्य प्रमाण तथा यसअघि काठमाडौं जिल्ला अदालतसहितबाट भएका आदेशहरुलाई नजिर बनाएर उनीहरुलाई थुनामै राख्नुपर्ने माग गर्नेछन्।

दुवैतर्फको बहस सुनिसकेपछि तथ्य, प्रमाणसहितका आधारमा न्यायाधीशबाट आदेश हुनेछ। यो आदेश रवि थुनाबाहिरबाट मुद्दाको सामना गर्ने अथवा थुना भित्रबाट भन्ने मात्र हो। मुद्दाको अन्तिम निर्णय होइन। उनी छुटे नै भने पनि उनीविरुद्धको मुद्दा चितवन जिल्ला अदालतमा विचाराधीन रहनेछ। अन्तिम फैसलामा दोषी ठहरिए ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनेछ।

आइतबार दिउँसो २ बजेसम्म अदालतमा मुद्दा दर्ता भइसकेको छैन। त्यसर्थ थुनछेक बहस सुरु भए पनि आजै निष्कर्षमा पुग्ने सम्भावना न्यून देखिन्छ।

प्रहरीले पत्रकार पुडासैनी मृत्यु प्रकरण अनुसन्धानका लागि २०७६ साउन ३० गते काठमाडौंबाट रवि लमिछाने, युवराज कँडेल तथा रुकु भनिने अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पहिलो र दोस्रो दुवै पटक अदालतले उनीहरुलाई ५–५ पटक थुनामा राख्न आदेश दिएको थियो।

२०७५ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा उनीहरूविरूद्ध मुद्दा अघि बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .