समाज


उत्कृष्ट शिक्षक छान्न यस्तो मापदण्ड

 उत्कृष्ट शिक्षक छान्न यस्तो मापदण्ड

प्रकाश सिलवाल
भदौ ७, २०७६ शनिबार ४:२४,

अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विगतमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार थिइन्थ्यो। तर, यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ।

राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २९ साउनमा बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले त्यस्तो आधार तय गरेको हो।

दिवसमा विद्यालयहरुलाई भने तिनले हासिल गरेको नतिजाका आधारमा राष्ट्रिय र प्रदेशगतरुपमा राष्ट्रिय शिल्ड, ध्वजा र नगद पुरस्कार दिइँदै आएको छ।

विगतको जस्तो धेरै सङ्ख्यामा नभई स्पष्ट मापदण्डका आधारमा सीमित व्यक्तिलाई पुरस्कृत गर्ने समितिको तयारी छ। मापदण्डबिना पुरस्कार दिँदा दिने र लिने पक्षसमेत आलोचित हुँदै आएको स्थितिमा कार्यसम्पादन मूल्याङ्कन र परिणाम सूचकका आधारमा पुरस्कार दिन लागिएको हो।

समितिको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लाबाट एक एक जना उत्कृष्ट शिक्षकका लागि फारम भरी पठाउन पत्राचार गरेको छ । उक्त फारममा पाँच सूचक र तिनका लागि अङ्कभार समेत समावेश गरिएको छ।

उत्कृष्ट शिक्षक छनोटका लागि शिक्षकले पठनपाठन गरेका कक्षाको कक्षागत औसत सिकाइ उपलब्धिका लागि ४०, शिक्षकले अध्यापन गर्ने तहको शैक्षिक उपलब्धिका लागि २०, शिक्षण सिकाइमा पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री र उपयुक्त शिक्षण विधिको प्रयोगका लागि २०, विद्यालयमा अतिरिक्त तथा सहक्रियाकलापको सञ्चालनमा योगदानका लागि १० र विद्यालयको विकासका लागि पु¥याएको योगदानका लागि १० गरी १०० पूर्णाङ्क निर्धारण गरिएको छ।

पुरस्कारका सिफारिशका लागि कम्तीमा १० वर्षको शिक्षण अनुभव भएको, स्थायी शिक्षक रहेको, हप्तामा २४ पिरियडभन्दा बढी शिक्षण गर्ने गरेको, नयाँ खोज तथा कार्यमूलक अनुसन्धान गरेको, बढुवा भएको तीन वर्ष अवधि पूरा भएको, कार्यसम्पादन मूल्याङ्कनमा ९० अङ्क ल्याएको, तालीम प्राप्त, विभागीय कारवाही नभएको, माथिल्लो कक्षाको आफ्नो विषयमा विद्यार्थी प्राप्ताङ्क औसत ८० प्रतिशतभन्दा बढी भएको थप आधार तय गरिएको छ।

यस्तै विद्यालयको नाममा बेरुजु नरहेको, छात्रवृत्ति, पाठ्ययुस्तक आदि समयमै वितरण गरेको (प्रअ भएमा), सामाजिक परीक्षण, कानूनी लेखा परीक्षण नियमित गरेको, विद्यालय व्यवस्थापन समितिको गठन समयमै गरेको हुनुपर्ने पनि आधार तय गरिएको छ।

नेपाल शिक्षक महासङ्घका कावाअध्यक्ष पूर्णप्रसाद दवाडीले यस प्रकारको छनोट मापदण्डले शिक्षकहरुमा विवाद कम हुने र काम गर्नेको सही मूल्याङ्कन हुने अपेक्षा व्यक्त गरे।

राष्ट्रिय शिक्षा दिवस यही भदौ २२ गते मनाइँदैछ । सोही दिन विश्वव्यापीरुपमा हरेक सेप्टेम्बर ८ मा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै आइएको छ।

सन् १९६६ अक्टोबर २६ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को १४औँ सेसनबाट अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने प्रस्ताव पारित भएको थियो। यस वर्षको अन्तर्राष्ट्रिय दिवसको नारा ‘लिटेरेसी र मल्टिलिङ्ग्युयालिज्म’ रहेको छ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार विश्वविद्यालयका प्राध्यापकमध्ये १५, प्रविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का प्रशिक्षकमध्ये सात र अन्य योगदानकर्तालाई पुरस्कार, पदक र प्रशंसापत्र दिने तय गरिएको जानकारी दिनुभयो । प्राध्यापकहरुको छनोट विश्वविद्यालय अनुदान आयोगले गर्नेछ।

दिवसमा सरकार, नागरिक समाज र सरोकार भएकाहरुका लागि विश्व साक्षरदता दर बढाउन र साक्षरताका लागि विद्यमान चुनौतीबारे समीक्षा गरिन्छ । दिवसलाई परम्परागत र औपचारिकरुपमा नभई मौलिक रुपमा मनाउन समितिले पहल थालेको छ भने सबै स्थानीय तहलाई आफ्नो तरिकाले दिवस मनाउन अपिल गरिएको छ।

राष्ट्रसङ्घीय दिगो विकासको लक्ष्यअन्र्तगत साक्षरता एक प्रमुख मुद्दा मानिन्छ । सन् २०१५ मा दक्षिण कोरियाको इन्चोनमा भएको विश्व शिक्षा मञ्चले सन् २०३० सम्मका लागि ‘समावेशी, समतामूलक र गुणस्तरीय जीवनपर्यन्त सिकाइ’ को घोषणा गरेको थियो।

नेपालमा विसं २०३१ देखि ‘शिक्षाको उज्ज्यालो घामबाट कुनै पनि बालबालिकाले बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad