नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ।
यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ।
बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन्। सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ। यो खबर आजको गोरखापत्रमा देवबहादुर कुँवरले लेखेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बीएमआई प्रभावकारी हुने अपेक्षा गरिएको छ । बीएमआईअनुसार शरीरको उचाइ र तौल सन्तुलित हुनुपर्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वस्थ हुन बीएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ । जसको उचाइअनुसार तौल हुन्छ, त्यो व्यक्ति स्वस्थ र निरोगी मात्र नभई पूmर्तिलो र मानसिक रूपमा परिपक्व हुने गरेको जानकारी डब्लूएचओले दिएको छ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे सैनिक कर्मचारीको आकर्षण स्वस्थ शरीर र फूर्तिलो जीउडाल हुनु अनिवार्य भएकाले फौजीहरूका लागि यो नियम लागू गरिएको बताउनुहुन्छ । बीएमआई सन्तुलित नहुँदा सैनिक कर्मचारी मोटाउने र भुँडे हुँदा उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोगबाट पीडित छन् ।
पदोन्नति हुन, विभिन्न सैनिक कार्यालय तथा युनिटको नेतृत्व सम्हाल्न र शान्ति मिसनमा खटिनका लागि बीएमआई सन्तुलित हुनु अनिवार्य छ । मेजर तहका सैनिक अधिकृतहरू स्टाफ कलेज पास गरे पनि बीएमआई फिट नभएमा पदोन्नति हुनबाट वञ्चित हुनेछन्।
त्यस्तै एनडीसी (नेसनल डिफेन्स कोर्स) पूरा गरेका सहायक रथीहरू उपरथीमा पदोन्नति हुन बीएमआई अनिवार्य गरिएको छ। सेनाले बीएमआई मापनको सम्पूर्ण जिम्मा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई दिएको छ।

प्रतिक्रिया