कर्णाली नदीले गरेको कटानको कारण कैलाली र बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुलबाट हुने आवतजावत अवरुद्ध भएको छ।
बाढीले पुल जोडिएको सडक बगाउँदा त्यस क्षेत्रका नागरिकको सिधा यातायात सम्पर्क टुटेको छ। दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको हो। कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रदेश जोड्ने सडक बाटो बन्द भएको छ। सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ सवारीसाधन आवतजावत गर्दै आएका थिए।
शनिबार दिउँसो कर्णाली नदीको पूर्वी भागमा पुलको स्ल्याब कटान भएपछि हुलाकी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो। कर्णाली नदीको बहाव पूर्वपट्टि हानिएको छ। स्थानीयले पहिलेदेखि नै त्यहाँ पुलको स्पान थप्नुपर्ने माग गर्दै आएका थिए। तर समयमै काम नहुँदा बाढीले सडक बगाएको हो।
बाढीले पुलको स्ल्याब कटान गरेपछि कैलाली र बर्दिया नियमित चल्ने बस तथा सवारी साधन वारिपारि रोकिएका छन् । राजापुरका स्थानीयवासी विक्रम कायस्थले खेतीपातीको समयमा सडक अवरुद्ध हुँदा स्थानीयलाई वारिपारि गर्न अझ धेरै समस्या भएको बताए। ‘कैलालीका सयौँ नागरिकको खेतीपाती बर्दियामा छ । उनीहरु यो समयमा बिहान जाने, साँझ फर्कने गर्थे,’ कायस्थले भने, ‘बाढीले सडक बगाएपछि समस्या भयो। कैलालीको उत्पादन बर्दियामा बिक्री हुने र बर्दियाको कैलाली जाने गथ्र्यो, त्यो पनि रोकियो।’
बर्दियाको राजापुरका अधिकांंश नागरिक उपचार र किनमेल जस्ता कार्य गर्न टीकापुर आउने गर्दछन् । पुल भत्किँदा यी सबैलाई समस्या भएको छ । पाँच वर्षअघि पुल निर्माण सम्पन्न भएकै वर्ष दुईवटा स्पान थप्नुपर्छ भन्ने माग भए पनि काम नभएपछि यस्तो अवस्था आएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको भनाइ छ। ‘हामीले पुल निर्माणकै क्रममा बर्दियातर्फ दुई स्पान थप्न आग्रह ग¥यौैँ, कसैले सुनेनन्’, उनले भने, ‘पाँच वर्षसम्म त निर्माण कम्पनीले हरेक बर्सातमा पुलपारि तटबन्ध गरेर पुल जोगायो तर गत वर्ष निर्माण कम्पनीको सम्झौता म्याद सकियो । अब यस वर्ष पुल नै नरहने अवस्था आयो।’
वडाध्यक्ष ठुकल्लाले समयमै ध्यान नदिएकै कारण अहिले ठूलो क्षति भएको बताए। आवतजावत बन्द हुँदा टीकापुर– ८ श्रीलङ्कामा बसिरहेका ४० परिवारसँगको सम्बन्धसमेत टुटेको छ । श्रीलङ्कामा वर्षे धान खेती गर्ने समयमा त्यहाँ आवतजावत गर्नेका लागिव सम्पर्क टुटेको स्थानीयवासी रमा बुढाले बताइन्। ‘हामी टीकापुर बस्छौँ तर खेतीपाती उतै छ । खेती गर्ने समयमा अब कसरी जानु?’ उनले भनिन्।
राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले अब विकल्पका रूपमा पुलबाट करिब पाँच किलोमिटर उत्तरको दौलतपुर घाटस्थित डुङ्गाबाट आवातजावत गर्नुपर्ने अवस्था आएको बताए। ‘अब पुलबाट आवतजावत गर्ने अवस्था छैन । अब नागरिकले पुनः डुङ्गाबाट आवतजावत गर्नुपर्ने बाध्यता आइलागेको छ”, उनले भने, ‘पुल बनेपछि सुख पाएका नागरिकलाई पुनः जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता आइपर्यो।’ रासस
Shares

प्रतिक्रिया