राजनीति


सर्वोच्च अदालतद्वारा अवैधानिक ठहर एमाले महाधिवेशन आयोजक कमिटीको बैठक १६ गते राख्ने निर्णय

सर्वोच्च अदालतद्वारा अवैधानिक ठहर एमाले महाधिवेशन आयोजक कमिटीको बैठक १६ गते राख्ने निर्णय

नेपालखबर
असार १३, २०७८ आइतबार ५:१६,

आज (आइतबार) बिहान बालुवटारमा आयोजित नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।

बैठकले एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक यही असार १६ गते काठमाडौंमा राख्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘एमालेको नवौं स्थायी कमिटी बैठक भर्खरै सकियो, बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक विपत्ति र राजनीतिक आयामका विषयमा संक्षिप्त तर गहन छलफल गर्‍याैँ।’

उनले अगाडि भने, ‘यस विषयमा अझै उच्च तहमा छलफल गर्नुपर्ने देखिएकाले यही असार १६ गते एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक काठमाडौंमा राख्ने निर्णय गरेका छौं।’

यस्तै महाधिवेशनका लागि सदस्यता नवीकरण गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए।

तर गत जेठ २७ गते कर्णाली प्रदेशका बर्खास्त एमालेका ४ सांसदलाई पुनर्बहाली गर्दै सर्वाेच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा पछि बनेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएको र त्यसले गरेका निर्णय मान्य नहुने उल्लेख छ। 

स्थायी कमिटी बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता ज्ञवालीले सर्वाेच्च अदालतको आदेश गम्भीर त्रुटिपूर्ण भएको आरोप पनि लगाए।

माधव नेपाल पक्षसँग विवाद भइरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापासहित २३ जनासमेत समावेश एमालेको केन्द्रीय कमिटीलाई हालै दसौं महाधिवेशन आयोजक कमिटीमा परिणत गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad