समाज


प्रतिष्ठानका उपकुलपति बिरुद्ध डाक्टर आन्दोलित, बिरामी अलपत्र

प्रतिष्ठानका उपकुलपति बिरुद्ध डाक्टर आन्दोलित, बिरामी अलपत्र

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १४:७,

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित भएका छन्। उपकुलपति डा सङ्गीता भण्डारीले डाक्टरलाई बिना कारण प्रतिष्ठानबाट निकाल्न खोजेको भन्दै त्यहाँ कार्यरत सबै डाक्टर आन्दोलित भएका हुन्।

उपकुलपति भण्डारीले स्वतःस्फूर्तरुपमा डाक्टरलाई बिरामी जाँच्न नदिने, पटकपटक धम्की दिने, विनाकारण स्पष्टीकरण सोध्ने मानसिक तनाव दिने जस्ता कार्य गरेको भन्दै उनहरु आन्दोलित भएका हुन्। आज बिहानैदेखि डाक्टरले अस्पतालमा बिरामी जाँच नगरी अस्पतालका प्रवेशद्वारामा धर्ना दिएर उपकुलपतिको विरुद्धमा आन्दोलन गरेका थिए।

तत्कालीन उपक्षेत्रीय अस्पताल, प्रतिष्ठान बनेपछि उपकुलपति भण्डारीकै नेतृत्वले नियुक्त गरेका डाक्टर अहिले अस्पतालमा कार्यरत छन्। तर उपकुलपति र रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बिना कारण निकाल्न खोजेपछि आफूहरु आन्दोलनमा उत्रिएको डाक्टरले बताएका छन्। सबै डाक्टर आन्दोलनमा उत्रेपछि बिरामी अलपत्र परेका छन्। बिरामीको आग्रहमा डाक्टरले आज दुई घण्टा मात्रै उपचारमा खटिएको बताइएको छ।

प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर डा मनोज यादवलाई प्रतिष्ठानका उपकुलपति डा भण्डारीले निकालेपछि उनीसँगै ११ जनाभन्दा बढी विशेषज्ञ डाक्टर आन्दोलित बनेका डाक्टरको भनाइ छ। डा यादवले बिरामीको ल्याब टेष्टका लागि प्रतिष्ठान बाहिर पठाएको भन्दै उपकुलपतिले डा यादवलाई भोलिदेखि नै अस्पतालमा नआउन भनेको बुझिएको छ।

उपकुलपतिले डाक्टरलाई आजै निकाल्ने, भोलि नै निकाल्ने भन्दै बारम्बार धम्की दिने गरेको डाक्टर यादवले बताए। उपकुलपति भण्डारीले कामबाट निकाल्ने, अनुभव पत्र नदिने, नेपालमा जागिर खान नमिल्ने गरी निकाल्ने जस्ता धम्की दिएर मानसिक तनाव दिने गरेको पाइएको छ।

डा मनोज यादव जिल्लाकै राम्रो डाक्टरका रुपमा परिचित बन्दै आएका छन्। राम्रो डाक्टरलाई निकाल्न खोजेर उपकुलपतिले प्रतिष्ठानलाई नै धराशायी बनाउन खोजेको बिरामीले बताउँछन्। उपकुलपति भण्डारी र रजिष्ट्रारले प्रतिष्ठानमा मनपरी गरेको त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीले बताउँदै आएका छन्।

अहिले त्यहाँ कार्यरत डाक्टर र उपकुलपति, रजिष्ट्रारबीच वार्ता भए पनि त्यो निकर्षमा पुग्न नसक्दा डाक्टरले प्रतिष्ठानको विरुद्धमा विज्ञप्ति निकाल्ने तयारी गरिरहेको बुझिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad