चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको केन्द्र स्थान छनोट गर्न सूचना जारी गरेको छ।
आयोगले कोरोना महामारीको विषम परिस्थितिमा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिरसमेत परीक्षा केन्द्र कायम गरी सञ्चालन गर्नुपर्ने अवस्था आएमा त्यसको डाटाबेस तयारीका लागि केन्द्र छनोट गर्न भनेको हो।
आयोगले आवेदन पेश गरेका आवेदकहरुलाई असार ९ गते विहान १० बजेदेखि १० गते अपराह्न ५ बजेभित्र आयोगको अनलाइन पोर्टलमार्फत आफूलाई पायक पर्ने परीक्षा केन्द्र स्थान छनोट गर्न भनेको छ।
एकभन्दा बढी शैक्षिक कार्यक्रममा आवेदन दिने उम्मेदवारले आफूले आवेदन दिएका प्रत्येक शैक्षिक कार्यक्रमका लागि एउटै परीक्षा केन्द्र छनोट गर्नुपर्ने छ।
उम्मेदवारले छनोट गरेको स्थानमा परीक्षा केन्द्र कायम गर्ने नगर्ने सम्बन्धमा आयोगले निर्णय लिने जनाइएको छ।
विदेशी उम्मेदवार तथा परीक्षा केन्द्र छनोट गर्न छुटेका उम्मेदवारको हकमा काठमाडौं उपत्यकामा नै परीक्षा केन्द्र कायम हुने आयोगले जानकारी दिएको छ।


प्रतिक्रिया