समाज


मेलम्ची पीडा : बाढीले घर खेत बढार्‍यो, अब जीवन धान्ने चिन्ता (भिडिओ)

मेलम्ची पीडा : बाढीले घर खेत बढार्‍यो, अब जीवन धान्ने चिन्ता (भिडिओ)

सुजन श्रेष्ठ
असार २, २०७८ बुधबार १४:१८,

अविरल वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची डुवानमा पर्‍यो।

मंगलबार इन्द्रावती र मेलम्ची बस्तीमा पसेपछि त्यहाँका स्थानीय घर छोडेर भागाभाग गर्नुपर्ने अवस्था आयो। मेलम्ची बजारका घर पूर्णरुपमा डुवानमा परे।

वर्षाले नदी बढेको भए पनि घरबारविहीन नै गराउने गरी बाढी आउला भन्ने राधिका श्रेष्ठलाई लागेको थिएन।

तर उनको जीवनमा नसोचेको भयो। इन्द्रावती दिउँसैदेखि बढेको उनले देखेकी थिइन्। तर बाढी नै आउला भन्ने राधिकालाई मात्र होइन मेलम्चीका अरुले पनि सोचेका थिएनन्।

नदी बढेपछि उनी सतर्क भने थिइन्। 'खोला यहाँ भन्दा बढ्दैन भन्ने लागेको थियो', उनले भनिन्, 'खोला बढेपछि पहिला भागे पनि भात पकाएर खान सकिन्छ होला भनेर फेरि घरमा आयौं।'

तर उनले अंगेनोमा आगो सल्लाउन नपाउँदै भाग्नु पर्ने अवस्था आयो। ४ जनाको परिवार बोकेर उनी सुरक्षित स्थानतर्फ दौडिएको बताउँछिन्।

मेलम्ची खोला पनि थुनिएको खबर उनलाई आयो। त्यसपछि उनी घर छोडेर निस्किइन्। मेलम्ची माथिका गाउँका मानिसले उनलाई फोन गरेर खोला बढेको भन्दै घरमा नबस्न भनेका थिए।

'माथिबाट तामाङनीहरुले खबर गरे', राधिकाले भनिन्, 'त्यसपछि ज्यान जोगाउन भाग्यौं।'

बाढीले घर जग्गा सबै बगाएको बताउने उनलाई कसैगरी जीवन धानिएला भन्ने छ। 'घर जग्गा सबै बगायो। मागेर भए पनि बाँचिएला। गिटी कुटेर हुन्छ की कसैगरी खाइएला,' उनले जीवनप्रतिको आशा व्यक्त गरिन्।

मेलम्चीका लक्ष्मी प्रसाद श्रेष्ठ इन्द्रावती बढ्दा घरमै थिए। उनले पहिले बर्खामा बढेको खोला ठाने तर मंगलबार इन्द्रावती बाढी बोकेर आएको थियो।

इन्द्रावती बढेको दुई घण्टामा पछि मेलम्ची खोला उर्लेर बजारमा तहसनहस बनाएको बताउँछन् श्रेष्ठ।

मंगलबार बेलुका ५ बजेदेखि नै खोलामा बढी आयो भन्ने सूचना पाएपछि स्थानीय सतर्क भएको उनले बताए।

भिडिओ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .