ad ad

समाज


पर्वतमा बाढीपहिराेबाट ५० घरपरिवार विस्थापित

पर्वतमा बाढीपहिराेबाट ५० घरपरिवार विस्थापित

नेपालखबर
असार २, २०७८ बुधबार १०:१४,

पर्वतका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराेबाट घरमा क्षति पुर्‍याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन्। प्रहरीले जिल्लाभरको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।

बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन्। बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिराका कारण १८ घरपरिवारलाई मङ्गलबारदेखि नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए। यसैगरी वडा नं ७ धाइरिङमा दुई घर विस्थापित बनेको गाउँपालिकाले जनाएको छ।

यस्तै महाशिला गाउँपालिका–८ घरपरिवार विस्थापित बनेका छन्। गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ आठ घर विस्थापित भएका छन्। उनका अनुसार वडा नं १ होश्राङदीको अर्गाउदीका पहलसिङ गुरुङको परिवार विस्थापित भएको छ। पाँच सदस्य रहेको उक्त परिवारलाई स्थानीयवासी लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ।

वडा नं ३ बालाकोटको हिरुखर्कमा तीन सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं ५ लुङ्खु देउरालीको ढाडाखर्कमा पाँचजना परिवार सदस्य रहेको आसबहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ।

यस्तै वडा नं २ भोक्सिङमा दुई घर, वडा नं ५ लङ्खुका तीन घर र वडा नं ४ पाखापानीका दुई घर गरी कूल आठ घर विस्थापित बनेका हुन्। वर्षा नरोकिएकाले अझै ठूलो क्षति हुनसक्ने उनले बताए।

यसैगरी फलेवास नगरपालिका–३ शङ्करपोखरीको रुग्दीमा पनि स्थानीयवासी बुद्धिसागर रेग्मीको घर उच्च जोखिममा परेको छ। घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिराका कारण घर बग्ने खतरामा परेको हो। वर्षा भएका बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकामा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताए

वर्षाकै कारण विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणी पनि डुबानमा परेको छ। पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको जिल्लाको बिहादी गाउँपालिका–६ मा रहेको सेतीवेणी बजार डुबानमा पर्दा त्यहाँका १० घर विस्थापित भएका छन्।

त्यसैगरी कुश्मा नगरपालिका–११ पकुवामा पनि ठूलो भागमा पहिरो गएकाले केही घर जोखिममा रहेको स्थानीयवासी दया सुवेदीले जानकारी दिए।

मोदी गाउँपालिका–२ देउपुरमा आठ र वडा नं १ भुकताङ्लेमा एक घर जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए। वडा नं ४ क्याङको ज्यामिरेमा एक घरमा पूर्ण क्षति पुगेको छ । परिवारलाई छिमेकीकामा आश्रय दिएर सारिएको छ। त्यसैगरी वडा नं ८ चित्रेमा दुई घर विस्थापित बनेका छन्।

पहिराका कारण जिल्लाभरका खोलानालामा बाढी आएको छ भने अधिकांश सडक अवरुद्ध बनेका छन्। त्यसैगरी खेतीयोग्य जमीनहरु समेत पहिराले पुरिएको स्थानीय तहहरुले जनाएका छन्। जिल्ला प्रहरी कार्यालयले जिल्लाभरि बाढी पहिराले क्षति भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ। क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .