समाज


निकिताको उजुरी प्रयासपछि पत्रकार श्रेष्ठको प्रश्नः अस्मिताको निजी सम्वाद छरपस्ट पार्नेलाई के हुन्छ?

निकिताको उजुरी प्रयासपछि पत्रकार श्रेष्ठको प्रश्नः अस्मिताको निजी सम्वाद छरपस्ट पार्नेलाई के हुन्छ?

नेपालखबर
भदौ ४, २०७६ बुधबार १०:१०,

पत्रकार एवं प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रवि लामिछाने प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। रवि पत्नी निकिताले भिडियो सार्वजनिक गरेको अभियोगमा जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठ, चितवनका प्रहरी एसपी दानबहादुर मल्ल र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दर्ता प्रयास गरेकी थिइन्। काठमाडाैं प्रहरीले उनको उजुरी दर्ता गर्न मानेनँ।

त्यस लगत्तै पत्रकार श्रेष्ठले फेसबुकमार्फत् जवाफ फर्काएका हुन्। उनले अनुसन्धान प्रक्रियामा रहेकी अस्मिता कार्की ‘रुकु’का गोप्य म्यासेज टेलिभिजनबाट प्रसारण गरेको विषयमा प्रश्न उठाएका छन्।

रवि लामिछाने आवद्ध टेलिभिजन न्युज २४ लक्ष्यित गर्दै उनले लेखेका छन्, ‘आफूमाथिको आरोपलाई विषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की ‘रुकु’को निजी सम्वाद आफ्नो च्यानलमार्फत् छरपस्ट पार्नेविरुद्ध के हुन्छ?’

उनले शालिकराम प्रकरणको भिडियो परिवार निष्पक्ष र शीघ्र अनुसन्धानका निम्ति समाचार बनाएको समेत दाबी गरेका छन्।

‘शालिकराम प्रकरणको भिडियो उहाँकै परिवारबाट पाएर निष्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकासन गरेको हो’, पत्रकार श्रेष्ठले भनेका छन्, ‘अधिवक्ता सुनिल पोखरेल (रविका वकिल) आफैँले चितवनमा पत्रकार सामु हामीले जे भनेका थियौं त्यही भन्नुभएको छ। अर्थात् भिडियोका दुई अलग क्लिप्स छन्। एउटा ८ मिनेट २८ सेकेन्ड र अर्को ४ मिनेट ५८ सेकेन्ड।’

पत्रकार श्रेष्ठले रविसँग जोडिएका अरू केही प्रकरणहरुको उदाहरण दिँदै उनको पत्रकारितामाथि गम्भीर प्रश्न उठाएका छन्।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ जना चितवन प्रहरीको हिरासतमा छन्। पुडासैनीले मर्नुअघिको भिडियो प्रमाणका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान दायरामा लिएको हो। भिडियो भएको आवाज पत्रकार पुडासैनीकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भइसकेको छ। प्रहरीले उनको मोबाइल सञ्चालन भएयताका सबै डाटा समेत रिकोभर गरिसकेको छ। पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवनमै छन् ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत चितवनले पटक–पटक आदेश गर्दै उनीहरुलाई कूल १० दिन थुनामा राख्न अनुमति दिएको छ।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने लगायत तीनजनाले आत्महत्याका लागि बाध्य परेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .