समाज


पुरानो नक्सा प्रकाशन गर्ने प्रकाशक र बिक्रेतामाथि कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

पुरानो नक्सा प्रकाशन गर्ने प्रकाशक र बिक्रेतामाथि कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

नेपालखबर
जेठ २६, २०७८ बुधबार ११:४,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन्।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको आज सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन्।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्रि भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन्।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

‘तपाईंहरुले अनुगमन गर्नुस, देशको आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’, मन्त्री श्रेष्ठको निर्देशन थियो।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए।

उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौँ।’

उनले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए।

अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।

उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छपाइ गरेको जानकारी पाएका छौँ, तीमध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौँ ।’

अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरनै नक्सा राखेर छपाई गरेको पाइएको छ।

मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सूचीकृत मा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृत दिन समेत निर्देशन दिएका छन्। बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad