सरकारले आज (मंगलबार) बाट देशभर कोरोनाविरुद्ध खोप अभियान चलाउँदै छ।
चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो।
आजदेखि २९ जेठसम्म चल्ने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकामा मात्रै एक लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। देशभर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकको संख्या चार लाखभन्दा धेरै छ। चीनले अनुदानमा दिएको १० लाख डोज खोप उनीहरुलाई लगाउन लागिएको हो।
सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएको थियो। तर, खोपले नपुग्ने देखिएपछि उपत्यकामा ६० देखि ६४ र बाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहलाई छनोट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं महानगरपालिकाका सबै वडामा खोप लगाउने व्यवस्था गरिएको जानकारी दिए। त्यसैगरी भक्तपुरमा पनि सबै स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरिएको छ।
काठमाडौं महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए। ललितपुरका पनि सबै स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरिएको स्थानीय प्रशासनले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन जाँदा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर जान भनेको हो।
खोप लगाउन जाँदा अनिवार्य नाक, मुख छोपिने गरी मास्क लगाउन, स्यानिटाइजर साथमै बोक्न, खोप लगाउने बेला पनि मास्क लगाइरहन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार खोप लगाएपछि झन्डै आधा घण्टासम्म खोप केन्द्रमै बस्नुपर्छ। घर फर्किएपछि साबुनपानीले मिचिमिची हात धुनु पर्ने मन्त्रालयले जनाएको छ।
जेष्ठ नागरिक सँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भए उनलाई पनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताए। २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने काठमाडौं महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया