रवि लामिछानेका एक जना समर्थकलाई प्रहरीले चितवन जिल्ला अदालत परिसरबाट पक्राउ गरेको छ।
जुलुस निकाल्न एवं समूहमा भेला हुन निषेध गरेको क्षेत्रमा नारा लगाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई दिनअघि प्रशासनले अदालत वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।
चितवन प्रहरीका एसपी दानबहादुर मल्लले अदालत परिसरमा उच्छृंखल गतिविधि गर्ने एवं निषेधित क्षेत्रमा हुलहुज्जत गर्ने कार्यमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको हो।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित ३ जना जिल्ला अदालत चितवन पेस गरिएको छ।
चितवन प्रहरी प्रमुख मल्लकाअनुसार अनुसन्धानका लागि समय नपुगेकाले उनीहरुलाई थुनामै राखी पुर्पक्ष गरिपाऊ भनी अदालत लगिएको हो। अदालत पेस हुनेमा लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की समेत छन्।
जिल्ला अदालत चितवनको तीन नम्बर इजालसमा यो विषयको सुनुवाइ भइरहेको छ। न्यायाधीश केशव अधिकारीको इजालसले मुद्दा सुनुवाइ भइरहेको हो। न्यायाधीशले थुनामुक्त गरी अनुसन्धान अघि बढाउन मनासिब ठानेको खण्डमा रवि लामिछानेसहित ३ जनै छुट्न पनि सक्छन्। प्रहरीले अहिलेसम्म जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीका तर्क सुनिसकेपछि न्यायाधीशले निर्णय दिनेछन्।

प्रतिक्रिया