बेलायतको एक अखबारले कोरोना भाइरसको ‘नेपाली भेरियन्ट’ भेटिएको भन्दै आफ्नो पहिलोपृष्ठमा कभर स्टोरी छापेपछि नेपाली अधिकारीहरुले त्यसबारे आधिकारिता बुझिरहेको बताएका छन्।
बेलायतको ‘डेली मेल अखबार’ले बुधबारको अंकमा नेपाली भेरियन्ट भेटिएकोबारे सामग्री छापेको थियो।
त्यहाँ नेपाली भेरियन्ट भेटिएपछि युरोपमा सन्त्रास फैलिएको उल्लेख गरिएको छ।
‘डेली मेल’लाई उद्धृत गर्दै मिरर को युके, द इन्डिपेन्डेन्ट तथा द टेलिग्राफलगायतका सञ्चारमाध्यमले पनि नेपाली भेरियन्टले युरोपमा विदा मनाउनेहरुलाई कोरोनाको खतराले पिरोलेको भनेर समाचारहरु नै बनाएका छन्।
डेलीमेलमा लेखिएको छ, ‘बेलायती वैज्ञानिकहरूले त्यहाँका मन्त्रीहरूलाई कोरोनाको नयाँ भेरियन्टबारे सचेत गराएका छन्। यो नेपालमा पहिलोपटक भेटिएको बुझिएको छ।’
ती वैज्ञानिकहरुले नेपाली भेरियन्टलाई कोरोनाविरुद्धको खोपले काम नगर्ने पनि जानकारी दिएको समाचारमा जनाइएको छ भने पोर्चुगलमा समेत नेपाली भेरियन्ट देखिएको बताइएको छ।
अखबारमा लेखिएको छ, ‘भर्खरै कोरोनाको खतराबाट मुक्त हुने प्रयास गरिरहेको युरोपमा नेपाली भेरियन्टले प्रभावित पार्ने देखिएको छ।’
समाचारमा गत महिनाको तथ्यांकलाई मध्यनजर गर्दै कोरोनाको संक्रमण तीव्र गतिमा बढ्दा नेपालका अस्पतालले सेवा दिनसक्ने अवस्थामा नरहेको पनि उल्लेख गरिएको छ।
हालसम्म आधिकारिकता पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय
नेपालको स्वास्थ्य मन्त्रालयले भने नेपाली भेरियन्टबारे समाचारको आधिकारिकता हालसम्म पुष्टि नभएको जनाएको छ।
हालसम्म नेपाली भेरियन्ट भन्ने नै नभएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन्। यद्यपि यस विषयमा अनुसन्धान हुने उनको भनाइ छ।
‘बेलायतमा प्रकाशित यो समाचारको आधिकारिकता बुझ्दै छौँ। हालसम्म हाम्रो जानकारीमा नेपाल भेरियन्ट भन्ने छैन’, प्रवक्ता पौडेलले भने।
मन्त्रालयले गत जेठ ४ गते नेपालमा तीन भेरियन्टका कोरोनाभाइरस भेटिएको बताएको थियो।
नेपालमा गत वर्ष सुरुमा चीनबाट नेपालमा आएका नेपाली विद्यार्थीमा कोरोना देखिएको थियो। त्यसभन्दा फरक दुई किसिमका भाइरसका भेरियन्ट पनि रहेको जेठ ४ गते मन्त्रालयले पुष्टि गरेको थियो।
नेपालमा भारतीय भेरियन्टका कारण दोस्रो लहर देखा परेको बताइन्छ। यहाँ बेलायती अल्फा भेरियन्टकासँगै भारतका दुई डेल्टा (B.1.617.2) र काप्पा (B.1.617.1) देखिएका छन् । हाल नेपालमा डेल्टा सक्रिय छ।
बेलायतमा मंगलबार राति मात्र त्यहाँका विज्ञले नेपालको नयाँ कोरोना भेरियन्टको विषयमा जानकारी दिएका हुन्।
Shares

प्रतिक्रिया