समाज


मापसे जाँचेजसरी एक मिनेटभित्रै कोरोना पत्ता लगाउने उपकरण बन्यो

मापसे जाँचेजसरी एक मिनेटभित्रै कोरोना पत्ता लगाउने उपकरण बन्यो

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १०:१४,

मानव जातिलाई कोरोना भाइरसले २ वर्षदेखि एकोहोरो आक्रमण गरिरहेको छ। यसविरुद्ध खोप विकास भएर लगाउने क्रम सुरु भइसकेको भए पनि यो संसारभर पर्याप्त हुन सकेको छैन। अहिले कोरोना महामारीको दोस्रो लहर झन् खतरनाक बनिरहेको छ। छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोरोनाको नयाँ भेरिएन्टले दिनदिनै संक्रमण फैलाइरहेको छ।

कोरोना देखापरेदेखि नै विश्वका वैज्ञानिकले यसबारे विभिन्न अनुसन्धान गरिरहेका छन्। यसै क्रममा सिंगापुरमा वैज्ञानिकले जम्मा १ मिनेटमा कसैलाई कोरोना संक्रमण छ कि छैन भनेर पत्ता लगाउने उपकरण विकास गरेका छन्।

मानिसको सासबाट यस उपकरणले त्यस व्यक्तिमा कोरोना संक्रमण कि छैन भनेर पत्ता लाग्ने वैज्ञानिकले दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यले यो उपकरण विकास गर्ने एक जना प्राध्यापकको जन्म भारतमै भएको दाबी गरेको छ।

ब्रेथोनिक्स कम्पनीले बनायो डिभाइस
नेसनल युनिभर्सिटी अफ सिंगापुर (एनयूएस) का तीन स्नातक र भारतमा जन्मिएका एक प्राध्यापक मिलेर सास सुँघेरै कोरोना पत्ता लाग्ने यन्त्र बनाएका हुन्। सिंगापुरमा हाल एन्टिजेन र्‍यापिड टेस्टसँगै सासका माध्यमबाट संक्रमण पत्ता लगाउने परीक्षण गरिन्छ।

‘ब्रेफेन्स गो कोभिड–१९ ब्रिथ टेस्ट सिस्टम’ नामको यस उपकरण एनयूएसको ब्रेथोनिक्स कम्पनीले विकास गरेको हो।

सासबाट कोरोना पत्ता लगाउने पहिलो उपकरण
सासबाट कोरोना पत्ता लगाउने यो नै पहिलो उपकरण हो। अधिकारीका अनुसार यस उपकरणबाट तुरुन्त नतिजा थाहा पाउन सकिन्छ। निर्माता कम्पनी ब्रेथोनिक्सले यो उपकरण ट्राफिक प्रहरीले मापसे चेक गर्न प्रयोग गर्ने उपकरणजस्तै गरी कोरोना संक्रमण पत्ता लगाउन सकिने जनाएको छ।

कसरी परीक्षण गर्ने?
कम्पनीका अनुसार कोरोना परीक्षण गर्ने यस उपकरणमा सम्बन्धित व्यक्तिले एकपल्ट फु गर्नुपर्छ। यसो गर्दा उपकरणभित्र सास जान्छ र यसपछि उपकरणमा रहेको लर्निङ सफ्टवेयरको सहायताबाट व्यक्तिमा कोरोना संक्रमण छ कि छैन भन्ने पत्ता लगाउँछ। विशेष कुरा के हो भने जम्मा १ मिनेटभित्र यो प्रक्रिया पूरा हुन्छ। अहिले जारी नमुना (स्वाब) संकलन, पीसीआर गर्नुपर्ने झन्झट तथा लामो समय कुर्नुपर्ने अवस्थामा यो उपकरण वरदान हुने ठानिएको छ।

परीक्षण प्रभावकारिता ९३ प्रतिशत
सासबाट कोरोना पत्ता लगाउने यो यो उपकरणले अहिलेसम्म तीन चरणको क्लिनिकल परीक्षण पूरा गरिसकेको छ। दुई चरणको परीक्षण सिंगापुरमै र एक चरणको परीक्षण दुबईमा गरिएको हो। यस क्रममा कोरोना परीक्षणमा यसको प्रभावकारिता ९३ प्रतिशत देखिएको वैज्ञानिकले बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad