जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ।
कोरोना संक्रमण फैलिरहेकाले यस बेलामा यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झन् उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो।
रुकुम (पूर्व)सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उनले बताए।
कोरोना महामारीकै कारण गतवर्ष पनि यार्सा संकलनमा रोक लगाइएको थियो। कोरोनाबाट बच्न भन्दै यार्सा संकलनमा रोक लगाइरहँदा यसबाट जिविकोपार्जन गर्दै आएकाको भने रोजिरोटि खोसिएको छ। रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइने गर्दछ। प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट सुरु भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गतवर्ष र यसवर्ष भने ठप्पै छ।
डिभिजन वन कार्यालय रुकुम (पूर्व)ले भने रोक लगाउनुभन्दा अगाडि नै केही परिमाण यार्सा संकलनको पुर्जी दिइसकेको छ। दुई साता अगाडि नै सात किलोको संकलन पुर्जी दिएको वन कार्यालयका सहायक वन अधिकृत सूर्य मैनालीले जानकारी दिए। त्यो भन्दा पछाडि कसैलाई पनि यार्सा संकलन पुर्जी नदिएको मैनालीले बताए। गत वर्ष र यस वर्ष यार्सा संकलनमा रोक लगाउँदा विशेष गरी पुथाउत्तरगङ्गा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन्। रासस

प्रतिक्रिया