बंगालको खाडीमा विकास भएको ‘यास’ चक्रवातको प्रभावले तराईका जिल्लामा हावाहुरीसँगै वर्षा सुरु भएको छ। प्रदेश १ र २ मा पर्ने तराईका सबैजसो जिल्लामा वर्षा सुरु भएको हो।
प्रदेश १ का सुनसरी, मोरङ, झापा, प्रदेश २ का सर्लाही, महोत्तरी, रौतहट, धनुषासहितका धेरैजसो जिल्लामा मंगलबार बिहानबाट हावाहुरीसँगै वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
‘अहिले पूर्वी र मध्य तराईका धेरै जिल्लामा वर्षा भइरहेको छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘पूर्वी तराईको दक्षिणी क्षेत्रबाट नेपाल प्रवेश गरेको यो चक्रवात अब क्रमशः पश्चिमतिर अघि बढिरहेको छ।’ मौसमविदले ‘यास’ नामाकरण गरेको यो चक्रवात शक्तिशाली हुने बताएका छन्।
वर्षा सुरु भएसँगै तराईका जिल्लामा विगत केही दिनदेखि बढेको गर्मी घटेको छ। हावाहुरीको कारण प्रदेश २ का कतिपय जिल्लामा विद्युत् आपुर्तीमा समेत समस्या सिर्जना भएको विद्युत् प्राधिकरणले जनाएको छ।
यासको प्रभाव प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यासको प्रभाव आगामी शुक्रबारसम्म रहने मौसमविद् श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया