समाज


नगदेशमा रातभरि महाकाली नाच

नगदेशमा रातभरि महाकाली नाच

नेपालखबर
भदौ २, २०७६ सोमबार ६:२,

मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन्। स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो।

रातिदेखि शुरु भएको यो नाच हरेक रात करीब चार घण्टा नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिए। त्यसैगरी बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः, पुखुसि, नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण नाच प्रदर्शन गरिने छ।

महाकाली देवी प्रकट हुने जनविश्वासका साथ महाकालीलगायत देवीदेवताको मुकुण्डो लगाएर तान्त्रिक विधि पूरा गरी नाचिने यो नाचलाई महाकाली जागा भएर भूतप्रेत, राक्षस र अनिष्टलाई हटाउने गरेको जनविश्वास रहेको छ। महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कुमारी एक, सिंह एक, बेता चार, भूत भैरव दुई, कवां दुई, ख्याक दुई, माकः (बाँदर) दुई, म्ह्यखा एक र महिषाशुर दैत्य एक गरी १८ जनाको समूहमा नाच नाचिने परम्परा रहेको गुरु घजूले जानकारी दिए।

यो नाचमा वाद्यवादन समूहसमेत गरी ५० भन्दा बढी कलाकारको सक्रिय सहभागिता रहने गर्दछ। नाचमा मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजालगायत विभिन्न २१ वटा तालमा नाच नाच्ने गरिन्छ। नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ।

नीलबाराही नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिका–८ बोडेमा तीनदिन चार रातसम्म मनाइने परम्परागत नीलबाराही नाच शुरु भएको छ। दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाचको आफ्नै नियम एवं परम्पराअनुसार पानी पर्दा पनि भिजेरै देवगणले नाच नाच्नुपर्ने भएकाले पानी परे पनि नाच सञ्चालन गर्नुपर्ने परम्परा छ।

१५ दिन अघिदेखि मूलघरमा सिकाइदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने परम्परा रहेको छ। बोडेको नारायणथान लाछीबाट शुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्पराअनुसार यो नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने गरेको गुरु बाबुकाजी भिन्दुवा श्रेष्ठले जानकारी दिए।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने श्रीकृष्ण खम्बु श्रेष्ठले बताए। ४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेको मल्लकालीन लाय्कू भैलः अर्थात भैरव नाच गए रातिदेखि शुरु भएको छ। मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणलगायत विभिन्न टोलमा चार दिनमध्य रातिसम्म सञ्चालन भएको नाच व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए।

भैरव दुई, दाःगि अर्थात कुमारी दुई, र ज्यापूँग एक गरी पाँच जना देवगण रहने लायकू भैरः नाचमा भैरबले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ। नाचको क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा हरेको श्रेष्ठको भनाइ रहेको छ। धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरुमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ।

प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए। त्यसबाट मुक्ति पाउनका लागि यी नाचहरु प्रदर्शन गरिएको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad