वागमती नदी सफाइ गर्न सुरु गरिएको अभियान ८ वर्ष पुरा भएको छ।
२०७० जेठ ५ गते सुरु गरिएको वागमती सफाइ महाअभियान अटुटरुपमा हरेक शनिबार विहान २ घण्टा सञ्चालन गरिँदै आएको छ।
अभियन्ताहरुले विगत आठ वर्षको अवधिमा वागमती र सहायक नदीमा वर्षौं देखि थुप्रिएको २० हजार टन भन्दा बढी फोहर उठाएका छन्। अहिलेसम्म यो अभियानमा करीव १० लाख भन्दा बढी स्वयंसेवीहरुले सहभागिता जनाएका छन्।
वागमती सफाइ अभियान ८ वर्ष पुरा भएको अवसरमा अभियानले एक विज्ञप्ति प्रकाशित गरी यस अवधिमा अभियानको पहलमा नदी तथा सम्पदा संरक्षण सम्बन्धी विद्यालय तहमा प्रवचन, राष्ट्रब्यपी निवन्ध र कविता प्रतियोगिताहरू तथा फोटो र चित्रकला प्रदर्शनी तथा साङ्गितिक कार्यक्रमहरू संचालन गरिएको जनाएको छ। यो अभियानले बायोकम्पोष्टिङ, कौसी खेती, ठोस फोहरको पुनप्रयोग सम्बन्धी अनुसन्धानका कामका लागि उत्प्रेरक र सहजकर्ताको भूमिका खेलेको छ। यसको सहजीकरणमा वागमतीका किनारमा ३ दर्जन भन्दा बढी बगैंचा निर्माण गरिएका छन् र अभिगन्ताहरूले वागमती र मनहरा किनारामा विभिन्न संघसंस्थाको सहभागितामा ६ हजार जति बोटबिरुवा हुर्काएर नदी किनारालाई हराभरा बनाएका छन्।
वागमती नदी सरसफाइबाट शुरु गरिएको यो अभियान अहिले वाग्मतीका विभिन्न खण्ड, वाग्मतीका शाखा नदीहरु जस्तै– विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु, चक्रपथ उत्तर, चक्रपथ पश्चिम गरी करीव २० स्थान र, उपत्यका वाहिर पोखरा, वीरगंज, नेपालगञ्ज, दाङ, दमक, भरतपुर, पनौतीलगायत ९० वटा भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सञ्चालन भइरहेको जनाइएकाे छ।
शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले शुरु गरेका पूर्वाधार निर्माण तथा सार्वजनिक जग्गा संरक्षणमा यस अभियानले सहयोगी, सजकर्ता र दवावकारी भूमिका निर्वाह गरेको छ। सो समितिले नदीका दुवै किनारमा ढलनिकासको व्यवस्था गर्ने, ढलप्रशोधन केन्द्र निर्माण गर्ने, वागमती नदीको मुहानक्षेत्रमा बाँध निर्माण गरी वर्षादको पानी जम्मा गरी सुख्खा याममा बगाउने, प्रयोग भएर निस्कने फोहर पानीलाई ढलप्रणाली मार्फत प्रशोधन गरी पुनः वागमती नदीमा छोडने आदि काम गरिरहेको छ। समितिले गुह्येश्वरीमा करीब ३ करोड २० लाख घनमिटर प्रतिदिन क्षमताको नयाँ ढलप्रशोधन केन्द्रको निर्माण र पुरानो प्रशोधन केन्द्रको मर्मत सम्भार गरी पूर्ण क्षमता(३२लाख घनमिटर प्रतिदिन)मा सञ्चालनमा ल्याएको छ ।
वागमतीको मुहान क्षेत्र घापमा २२ मिटर अग्लो बाँध बाध्ने कार्य अन्तीम चरणमा पुगेको छ । विष्णुमती, धोवीखोला लगायतका नदीमा ढल विछ्याउने कार्यक्रम सरकारले अगाडि बढाएको छ। वागमतीका सहायक नदीहरु मनोहरा, हनुमन्ते, नख्खुमा नदीको बहावक्षेत्र सीमांकन गरी तटबन्ध निर्माण र दुवै किनारमा सडक निर्माण गर्ने कार्य अघि बढिरहेको छ। ती पूर्वाधार निर्माण भएपछि मात्र वागमती ढलमुक्त हुने र सुख्खायाममा पनि नदीमा यथेष्ट पानी वग्ने अवस्था आउने अभियानको विश्वास छ।

प्रतिक्रिया