नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज नबस्ने भएको छ।
समिति सदस्य रघुजी पन्तका अनुसार आज बस्ने भनिएको बैठक भोलि दिउँसो बस्ने गरी सरेको हो।
‘आजको लागि बस्ने तय भएको कार्यदलको बैठक आज बस्दैन, अब भोलि दिउँसो बस्छ’, पन्तले नेपालखबरसँग भने ।
यसअघि हिजो पनि कार्यदलको बैठक बस्नसकेको थिएन।
नेकपा एमालेभित्र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने शर्त राखेपछि सोहीबारेमा अध्ययन गर्न कार्यदल बनाइएको हो।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच कार्यदल बनाउने सहमति भएपछि विभाजनको डिलमा पुगेर रोकिएको थियो।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा ५ जना र नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा ५ जना गरी १० जना सदस्य छन्।
तर, एमालेको आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको ह्विप नमानेको निष्कर्ष निकालेकोले भोलि बस्ने भनिएको कार्यदलको बैठक अनिश्चित छ।
वाग्मती प्रदेश राष्ट्रिय सभाको आज भएको उपनिर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा र नेपाल पक्षबाट कांग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेदवार डा. खिमलाल देवकोटाबीच चुनावी प्रतिस्पर्धा भएको छ।
सोको नतिजा आजै आउने निर्वाचन आयोगले जनाएको छ।
पार्टीको आधिकारिक उम्मेदवारलाई मत नदिई स्वतन्त्र उम्मेदवारलाई मत दिएको विषयले एमालेभित्र विवाद थप चर्काउने देखिन्छ।
Shares

प्रतिक्रिया