कोरोना भाइरसबाट संक्रमित व्यक्ति टाढा गइसक्दा पनि ऊ बसेको स्थानको हावामा २ घण्टासम्म भाइरस रहिरहने भारतका वैज्ञानिकले गरेको अनुसन्धानले देखाएको छ।
यसैकारण २ मिटरको भौतिक दूरीले मात्र संक्रमण सर्नबाट बच्न नसकिने चेतावनी भारतीय वैज्ञानिकले दिएका छन्।
इन्स्टिच्युट अफ मायक्रोबियल टेक्नोलजी (इमटेक), सेन्टरल इन्स्टुमन्टेसन साइन्टिफिक अर्गनाइजेसन (सीएसआईओ), सीसीएमबी र सीएसआईआरका विभिन्न प्रयोगशालाले गरेको संयुक्त अनुसन्धानले संक्रमितले सास फेरेको हावामा ऊ गइसक्दा पनि २ घण्टासम्म कोरोना भाइरस हावामा तैरिरहने निष्कर्ष निकालेको हो।
यस अनुसन्धानका आधारमा मानिसलाई निवास वा कार्यालयहरूमा स्वास्थ्य सतर्कताका मापदण्ड परिवर्तन सिफारिस गरिएको छ।
इमटेकको अनुसन्धान भन्छ : संक्रमित व्यक्ति कोठाबाट बाहिरिसक्दा पनि २ घण्टासम्म हावामा भाइरस घुमिरहन्छ भने २ मिटरभन्दा टाढासम्म भाइरल पार्टिकल (भाइरसयुक्त कण) पाइयो। यसैले यसबाट बच्न ३ मिटरसम्म भौतिक दूरी कायम राख्न आवश्यक देखिन्छ। सीएसआई, इमटेक, सीसीएमबी र अन्य प्रयोगशालाले गरेको अनुसन्धानका आधारमा सीएसआईओले भेन्टिलेसनको नयाँ गाइडलाइन बनाइएको छ।’
साना कण हावामा रहन्छन्
अनुसन्धान प्रतिवेदनअनुसार भाइरसका ड्रपलेट्स बोल्दा, गीत गाउँदा, खोक्दा वा हाच्छिउँ गर्दा हावामा फैलिन्छन्। अनुसन्धान भन्छ: ठूलो पार्टिकल त जमिनमा खस्छ तर सानो कण हावामै रहन्छ। यो कैयौं घण्टासम्म हावामा रहन सक्छ। त्यस हावामा अर्काे स्वस्थ व्यक्तिले सास लिँदा उसमा भाइरस सर्छ।
वैज्ञानिकले यसका लागि विभिन्न कीटाणुनासक औषधि प्रयोग गर्न सिफारिस गरेका छन्, जसले गर्दा आवासीय भवन वा कार्यालयका हावा स्वच्छ होस्।
चन्ढीगढ कलेज अफ आर्किटेक्चरकी प्रिन्सिपल डा. संगीता बग्गाका अनुसार प्राविधिक आधारमा यसको अर्थ के हो भने कोठाको कोठाको हावा परिवर्तन भइरहोस्, जसले गर्दा अक्सिजनको मात्रा राम्रो होस् र हावा स्वच्छ होस्। यसैले घरमा हावा परिवर्तन गर्ने प्रविधि राख्नु आवश्यक हुने उनी बताउँछिन्।
उनका अनुसार मानिसले एसीका लागि पूरै कोठा बन्द गर्ने गर्छन्, जुन ठीक होइन। झ्याल खुला राख्नुपर्छ र बरु पर्दा लगाउनुपर्छ, जसले गर्दा हावा ओहोरदोहोर हुन सकोस्। दैनिक भास्करबाट
यो पनि : हावाबाट पनि कोरोना फैलिने कुरा डब्ल्यूएचओले स्वीकार्यो, बच्नेबारे नयाँ ‘गाइडलाइन’ आउने सम्भावना

प्रतिक्रिया