नेकपा एमालेभित्रको आन्तरिक विवादले पेचिलो बनेको राष्ट्रिय सभा बागमती प्रदेशको उप निर्वाचनका तीनै जना उम्मेदवार प्रदेश राजधानी हेटौडा पुगेका छन्।
एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादल एमालेको बागमती प्रदेशका नेताहरुसहित बुधबार हेटौडा पुगे भने अन्य उम्मेदवार पनि त्यहाँ पुगिसकेका छन्।
विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षबाट डा. खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टीबाट कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्।
बादलका साथ बागमती प्रदेशका सह-इन्चार्ज तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य गोकुल बाँस्कोटा, बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितका नेताहरु हेटौडा पुगेका छन्।
अर्कोतर्फ देवकोटाको साथमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पुरुषोत्तम पौडेलसहितका नेताहरु हेटौंडामा रहेका छन्। संघीयताका विज्ञ देवकोटा नेता माधव कुमार नेपाल निकट हुन्।
बागमती प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौला नेता तथा मतदाताहरु हेटौडा आउने क्रम शुरु भैसकेको बताउँछन्।
'हेटौडामा मौसम र राजनीतिक दुवै तातेको छ। उम्मेदवार नेता तथा मतदाता आउने क्रम जारी छ र समान्य भेटघाट भैरहेको छ’ निरौलाले भने, ’बादलको चुनावमा परिचालनका लागि पार्टीले जिम्मेवारी दिएको र प्रदेश कमिटीका नेताहरु हेटौडा आइपुग्नु भएको छ।’
निरौलाले पार्टीको आधिकारिक उम्मेवार बनाएको व्यक्तिले नै जित्ने र त्यसमा कुनै समस्या नुहनेमा ढुक्क रहेको बताए।
'एउटा परिस्थितिमा माधव नेपाल कमरेडले खिमलालजीलाई उम्मेदवार बनाउनु भएको थियो र अहिले पार्टीभित्रको परिस्थिति पनि परिवर्तन भएको छ’ निरौलाले भने, 'त्यसैले आधिकारिक उम्मेदवारले चुनाव जित्नु हुन्छ भन्नेमा ढुक्क पनि छौ।’
निरौलाले नेता नेपालले पनि बादललाई सघाउने दावी गरे। 'उम्मेदवारी दर्ता गर्दाको अवस्था पार्टी विभाजन आकंलन गरेर भएको थियो। तर अहिले परिस्थिति परिवर्तन भैसेको छ’ उनले थपे।
उपनिर्वाचनको मौनअवधि शुरु भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल प्रकाशित गर्दै बादलको पक्षमा मत मागेका छन्।
एमाले एक ढिक्का हुँदा पार्टीको आधिकारिक उम्मेदवारलाई जित्न कठिन नहुने अवस्थामा रहेपनि विवादको कारण बादलले जित्छन् भन्नेमा ढुक्क हुने अवस्थामा भने छैन।
मंगलबार मात्रै बादलले नेता नेपालसँग भेट गरेर सहयोगको आग्रह गरेका थिए। फरक परिस्थितिमा देवकोटालाई आँफैले उम्मेदवार बनाएकाले सहयोग गर्न नसक्ने नेपालले बादललाई भनेका थिए।
नेता नेपाल निकट रहेका प्रदेश सभाका सांसद तथा स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु सञ्चार माध्यमहरुमा खुलेर धारणा व्यक्त गर्न चाँहैनन्।
तर उनीहरुले देवकोटालाई उम्मेदवारीको बारेमा पहिलेको निर्णयमा परिवर्तन नभएको बताए।
'बादललाई एमाले एकीकृत कमिटीले निर्णय गरेर उम्मेदवार बनाएको होइन। अध्यक्ष ओली गुट र देवकोटालाई हामीले उम्मेदवार बनाएको हो’ एक प्रदेश सांसदले भने,’ 'अहिलेसम्म एउटै उम्मेदवारी कायम राख्ने विषयमा कुनै निर्णय भएको छैन। त्यसैले पूर्ववत रुपमा मतदात गर्दछौं।’
१ सय १० सदस्यीय प्रदेश सभा र १ सय १९ पालिकामा प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाको मतदाता रहेका छन्।
प्रदेश सभासका संसदको मतभार ४८ हुन्छ भने पालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १८ रहन्छ।
प्रदेश सभामा एमालेको ५६, नेकपा माओवादी केन्द्रको २३, नेपाली काग्रेसको २१, विवेकशील साझाको तीन, राप्रपाको २, नेमकिपाको २, जनता समाजवादी पार्टीका एक सांसद रहेका छन्।
विपक्षी गठबन्धनका नेताहरुले एमालेको उम्मेदवार भन्दा देवकोटा ४ सय मतले अघि रहेको आंकलन गरेका छन्।
राप्रपाले एमालेका उम्मेदवार बादललाई मत दिने जनाएको छ। विवेकशील साझाले अहिलेसम्म निर्णय गरेको छैन।
'अहिलेसम्मको धारणा भनेको सरकारी उम्मेदवारलाई नदिने भन्ने नै हो। औपचारिक निर्णय भने भैसकेको छैन’ साझाका प्रवक्ता शरदराज पाठकले भने’, 'आज राति नेताहरु र संसदीय दल बसेर यस विषयमा निर्णय गर्ने तयारी छ।’
हेटौंडा उपमहानगरपालिका बडा नम्बर चार भुटनदेवी स्कुलमा मतदान केन्द्र तोकिएको छ।
कोरोना महामारीको चरणमा निर्वाचनमा सहभागी हुनेहरुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड निर्वाचन आयोगले तोकेको छ।
मतदान केन्द्रमा प्रवेश गर्ने व्यक्तिसँग ७२ घण्टाअघि पीसीआर परीक्षण गरेको रिपोर्ट अनिवार्य गरेको छ।
कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान स्थलको व्यवस्थामा गरिएको निर्वाचन आयोगले जनाएको छ।
महामारीबीच सयौं मानिस भेला हुने गरी चुनाव गर्न लागेको भन्दै आयोगको आलोचनासमेत भैरहेको छ।

प्रतिक्रिया