नेपाल विज्ञान तथा प्रविधि प्रतिष्टान (नास्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ।
कोभिड महामारीमा अक्सिजन सिलिन्डर चरम अभाव भइरहेको बेला नया सिलिन्डर निर्माण गरी परीक्षण गरिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको सुरुवात गरे।
अब नास्टले सिलिन्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ।
नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिए।
‘सुरक्षाको अन्तिम उपाय अवलम्बन गर्न बाँकी छ, केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिनेछौँ,’ उनले भने।
उनका अनुसार नेपालमा पाइने सिलिन्डरको न्यूनतम मूल्य १५ हजार पर्छ। तर, नास्टले तयार गरेको सिलिन्डर १० हजार रुपैयाँभन्दा कम मूल्यमै पाइनेछ।
सो सिलिन्डरमा २२५ बारसम्म ग्यास भर्न मिल्नेछ। परीक्षण गर्दा ग्यासको दबाब २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो।
त्यसैले अन्तिम परीक्षण गर्न बाँकी रहेको डा. ढकालले बताए।

प्रतिक्रिया