मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना अस्पतालका कर्मचारीमाथि हातपात भएको छ।
सोमबार राति विराटको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेका हुन्।
हातपातमा संलग्न रहेको अभियोगमा बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
सोमबार राति नै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो अन्य दुई जना फरार छन्।
सोमबार राति पेट दुखेर बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठ उपचारका लागि भर्ना भएकी थिइन् । उनलाई अस्पताल लिएर आएका व्यक्तिले अस्पतालका सुरक्षा गार्ड र अन्य स्वास्थ्यकर्मीलाई गालीगलौच गर्दै हातपात गरेका हुन्।
गोमादेवीको उपचारमा ढिलाइ भएको भन्दै उनीहरूले आकस्मिक कक्षमा छिरेर चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ।
रेग्मी र बस्नेत कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारमा संलग्न थिए ।
आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी अस्पतालले दिएको छ।

प्रतिक्रिया