समाज


चितवनमा २६९ मिलिमिटर वर्षा, कहाँ कति पर्‍यो पानी?

चितवनमा २६९ मिलिमिटर वर्षा, कहाँ कति पर्‍यो पानी?

कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रुङ र मोदी खोलामा आइतबार आएको बाढीले नयाँपुल–घान्द्रुक सडक खण्डमा पुर्‍याएको क्षति।


नेपालखबर
असार ३०, २०८३ मंगलबार ६:४५, काठमाडौँ

मनसुन सक्रिय भएपछि गएको आइतबारदेखि देशैभरी वर्षा भएको छ। भारी वर्षा हुँदा देशका धेरै जिल्ला प्रभावित भएका छन्। मुग्लिन नारायणगढ कान्तिलोकपथ बीपी राजमार्गसहितका सडक अहिले बाढी र पहिरोले बन्द छन्।

सोमबार चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा आइतबार कम वर्षा भए पनि गण्डकी, बागमती र कोसी प्रदेश भारी वर्षा भएको छ। वर्षाले ती क्षेत्र नराम्ररी प्रभावित भएका छन्। 

कास्कीमा खोलाले सडक तथा घर नै कटान गरेको छ। चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो र लेदोका कारण अवरुद्ध भएको छ। स्थानीय प्रशासनले सोमबार साँझदेखि नै यो सडकमा सवारी आवागमन रोकेको छ। 

कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रुङ र मोदी खोलामा आइतबार आएको बाढीले नयाँपुल–घान्द्रुक सडक खण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–८ घान्द्रुकको सेउली बजारस्थित सडकमा पुगेको छ। 

बाढीका कारण दुई दिनदेखि अवरुद्ध सडक सोमबार दिउँसो ४ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। घान्द्रुकमा रोकिएका पर्यटकसहितका २४ वटा सवारीसाधन सडक खुलेसँगै पोखरातर्फ प्रस्थान गरेको गाउँपालिका अध्यक्ष विष्णु केसीले जानकारी दिए। 

मकवानपुरबाट काठमाडौँ आउने सडकसमेत प्रभावित भएकाले सवारीसाधन सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। 

नागढुङ्गाबाट काठमाडौँ बाहिर जाने सडकमा यातायात सञ्चालनमा रोक लगाइएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले वर्षाका कारण जोखिम बढेकाले अर्काे सूचना जारी नभएसम्मका लागि रोक लगाइएको बताए। कालीकोटमा पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ। 

सबैभन्दा बढी वर्षा चिवतनमा 

सोमबार सबैभन्दा बढी वर्षा चितवनमा भएको छ । पछिल्लो २४ घण्टामा चितवन नारायणगढ आसपासका क्षेत्रमा २६९ मिलिमिटर वर्षा भएको विवरण रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।   

चितवनका अन्य केही वर्षा मापन केन्द्रमा पनि धेरै भारी वर्षा भएको छ । मनसुन भित्रिएपछि मात्रै २०० मिलिमिटरमाथि वर्षा भएको थियो । स्थानीय प्रशासनले चितवन भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। 

 विवरणअनुसार, चितवनको रामपुरमा २३२ र देवघाटमा २०९ मिलिमिटर तथा कालीखोलामा १५१ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको घोरेपानीमा २५८ मिलिमिटर वर्षा भएको छ। 

विभागको पछिल्लो विवरणमा चितवन म्याग्दीपछि नवलपुरको दुम्क्यौलीमा २१५ मिलिमिटर वर्षा भएको छ। सिन्धुली, उदयपुर र सुनसरीमा पनि १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। 

यस्तै, कास्की, गुल्मी, पाल्पा, मकवानपुरको पनि त्यस्तै विवरण प्राप्त भएको छ। अहिले पनि चितवनसहित बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। 

 हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । त्यसको असर देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। 

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad