पत्रकार दिनेश दाहालको कोरोना संक्रमणका कारण निधन भएको छ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दाहालको ४० वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो।
१५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो ।
वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए।
दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए।
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन्।
दाहालका श्रीमती, एक छोरा र एक छोरी छन्।
कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन्।

प्रतिक्रिया