समाज


‘गाईगोठ’मा राखिएका कोरोना संक्रमित युवाले गरे झुण्डिएर आत्महत्या

‘गाईगोठ’मा राखिएका कोरोना संक्रमित युवाले गरे झुण्डिएर आत्महत्या

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ४:४८,

चितवनको माडीका कोरोना संक्रमित एक युवाले आत्महत्या गरेका छन्। माडी नगरपालिका ३ इनारबरुवाका ३५ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन्।

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले दिएको जानकारी अनुसार उनी केही दिनअघि मात्र भारतबाट घर फर्किएका थिए। ‘स्वास्थ्यमा समस्या देखिएपछि उहाँको स्वाब परीक्षण गरिएको थियो,’ मेयर ढकालले नेपालखबरसँग भने, ‘बुधबार मात्रै उहाँमा कोरोना पोजिटिभको रिपोर्ट आएको हो। राति आत्महत्या गर्नुभएछ, दुःख लागेको छ।’

ती युवाले आत्महत्या गर्नुको कारण भने नखुलेको ढकालले बताए। कोरोना संक्रमण देखिएपछि उनलाई गाईगोठमा आइसोलेसन बनाएर राखिएको स्थानीयले बताएका छन्। तर, मेयर ढकालले भने गाईगोठमा नभएर उनलाई घरमै राखिएको दाबी गरे।

‘म भर्खरै घटनास्थलमा पुगेर आएको हुँ,’ मेयर ढकालले भने, ‘गाईगोठमा होइन, उहाँ घरमै अलग्गै बस्नु भएको थियो।’ ती युवाले गएराति गोठमा झुण्डिएर आत्महत्या गरेका इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले जानकारी दिए।

भान्जीको बिहेमा सहभागी भएर उनी १३ वैशाखमा भारतबाट घर आएका थिए। उनको शव व्यवस्थापनको तयारी भइरहेको मेयर ढकालले जानकारी दिए। ‘अब मृतक युवाका परिवारका सदस्य र वरपरका अन्य मान्छेको पनि स्वाब परीक्षण गरिने छ,’ ढकालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .