दोस्रो लहरको उछालसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पीसीआर पोजिटिभ भएका हरेक व्यक्तिलाई साइकल थ्रेसहोल्ड (सीटी) भ्यालुमा धेरै चासो देखिएको छ। सीटी-भ्यालुबारे फरक-फरक धारणाका कारण धेरै व्यक्तिमा कन्फ्युजन देखिएको छ।
–सीटी-भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो। यो फोक्सोमा भएको भाइरसको लोड हैन। तसर्थ सीटी-भ्यालु बढी अंकमा हुँदा सुरक्षित भइने र कम अंकमा हुँदा खतरा हुने हुँदैन।
–सीटी-भ्यालुलाई धेरै कुराले असर गर्छ। नाकबाट लिइएको स्याम्पल र घाँटीबाट लिइएको स्याम्पलमा पनि सीटी-भ्यालु फरक हुन्छ। त्यस्तै स्वाब कसरी लिइयो? कति मात्रामा लिइयो? त्यसलाई कसरी सुरक्षण, परिवहन र परीक्षण गरियो? परीक्षण गर्दा कस्तो किट वा रिएजेन्ट प्रयोग गरियो? कस्तो जनशक्तिले परीक्षण गर्यो? आदिअनुसार पनि सीटी-भ्यालु फरक हुनसक्छ। प्रयोगशालाअनुसार पनि सीटी-भ्यालु फरक-फरक हुन्छन्। तसर्थ सीटी-भ्यालु हेरेर आत्तिनु वा ढुक्क हुन जरुरी छैन।
–सीटी-भ्यालु एउटा चक्र पनि हो। शरीरमा भाइरस प्रवेश गरेको ३/४ दिनसम्म भाइरसको मात्रा कम हुन्छ। तसर्थ सीटी-भ्यालु २४ भन्दा माथि देखिन्छ। उक्त व्यक्तिमा ७ दिनपछि भाइरसको संख्या धेरै हुन्छ। त्यो बेला सीटी-भ्यालु २४ भन्दा धेरै तलसम्म देखिन्छ। त्यही व्यक्तिमा निको हुने बेला भाइरस नष्ट भएर भाइरसको संख्या कम हुन्छ। अनि सीटी-भ्यालु २५ भन्दा माथि देखिन्छ। यो चक्र अधिकतर व्यक्तिमा देखिन्छ।
–बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ। त्यस्तै खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबडी हुन्छ। एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबडी विकास भएको हुन्छ। त्यस्ता व्यक्तिमा भाइरस घाँटीमै नष्ट हुन्छ। तसर्थ सीटी-भ्यालु १२, १४ जस्तै छोटो अंकमा नदेखिन सक्छ।
–प्रविधि तथा देशअनुसार सीटी-भ्यालु कतै ३२ तथा कतै ४० सम्मलाई पोजिटिभ मानिएको छ। हाम्रो देशमा ३६ भन्दा माथिल्लो अंकलाई नेगेटिभ मानिन्छ।
–सीटी-भ्यालुमा अलमल हुनु पर्दैन। रिपोर्ट पोजिटिभ भए पोजिटिभ तथा रिपोर्ट नेगेटिभ भए नेगेटिभ बुझेर तदानुसार गर्नुपर्छ।
सीटी-भ्यालु बुझ्ने सरल उदाहरण :
हामीले एउटा खेतमा इनार खन्दैछौं। १०–१२ वटा रिङ हाल्दैमा पानी आयो भने त्यो जमिनमा पानी प्रशस्त छ भन्ने बुझिन्छ। तर ३०–३२ वटा रङ हालेपछि मात्र पानी आयो भने त्यो जमिनमा पानी कम छ भन्ने बुझिन्छ।
पीसीआर टेस्टमा पनि भाइरस लोड धेरै छ भने १०–२० साइकलमै भाइरस भेटिन्छ। भाइरसको लोड कम छ भने ३०–३२ साइकलमा मात्र भाइरस भेटिन्छ। सीटी-भ्यालुलाई यसरी पनि बुझ्न सजिलो हुन्छ।
प्रतिक्रिया