समाज


भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिकलाई पढाउने

भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिकलाई पढाउने

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १५:३४,

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकहरुका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता स्व. भरतमोहन अधिकारीको ८६औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो।

फाउण्डेशनका तर्फबाट भरतमोहन पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम’ घोषणा गरिन्। उनले निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइन्।

एक वर्षे शैक्षिक कार्यक्रममार्फत निरक्षर ज्येष्ठ नागरिकहरुलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने अधिकारीले बताइन्। पहिलो चरणमा ललितपुरको बुङमतिमा ज्येष्ठ नागिरकका लागि आधारभूत शैक्षिक कार्यक्रम सुरु गरिनेछ।

तत्काल वागमती प्रदेश र क्रमशः सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको उनले उल्लेख गरिन्। पहिलो चरणमा ६० वर्ष उमेर नाघेका ३० जना निरक्षर वृद्धवृद्धा छनौट गरेर कार्यक्रम सञ्चालन गरिने फाउण्डेशनले जनाएको छ।

सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन दुई घण्टा दरले कक्षा सञ्चालन गरिने छ कक्षामा एक को–अर्डिनेटर, नेपाली र स्थानीय भाषामा दख्खल राख्ने स्नातकोत्तर अध्ययन गरेका प्रमुख शिक्षक र प्लस टु अध्धयन गरेका सहायक शिक्षकको व्यवस्था मिलाइएको छ।

अधिकारीले कक्षामा सहभागी हुने ज्येष्ठ नागरिकलाई शैक्षिक सामग्र्री, मोबाइल, बस, झोला र दिवा खाजाको व्यवस्था फाउण्डेशनले नै गर्ने घोषणा गरिन्। यस्तै प्रयोगात्मक सिकाइका लागि आवश्यकताअनुसार वृद्धवृद्धालाई शैक्षिक भ्रमणसमेत गराइने कार्यक्रम छ।

सिकाइ मापन गर्न हरेक महिना आंशिक र १२औं महिनामा अन्तिम परीक्षा लिइने छ। अन्तिममा प्रमाणपत्र समेत उपलब्ध गराउने फाउण्डेशनले जनाएको छ।

कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ भन्ने कामको पहिलो पाइला भरतमोहन अधिकारीका तर्फबाट सुरु भएको बताए। भरतमोहनले थालेको एक सय रुपैयाँ वृद्धभत्ता बढेर हाल तीन हजार पुगेको भन्दै उनले उक्त कामका कारण अधिकारी सदैव जीवित रहने उल्लेख गरे।

ज्येष्ठ अशिक्षित हुँदा युगअनुसार चल्न नसक्ने र जीवनयापन कठिन हुने भएकाले उनीहरु शिक्षित हुन जरुरी रहेको उनको भनाइ थियो। ज्येष्ठ नागरिकलाई सशक्तीकरण गर्न अध्ययन जरुरी रहेको स्पष्ट गर्दै गौतमले विदेशमा रहेका सन्तानलाई फोन गर्न र आएको फोन फर्काउन नसक्नेको संख्या धेरै रहेको बताए।

‘आमाबाबु निरक्षर हुँदा छोराछोरीलाई पनि समस्या हुने गरेको छ’, गौतमले भने, ‘ज्येष्ठ नागरिकलाई बोझ सम्झने सामाजिक मनोविज्ञान झाँगिएकाले यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास हामीलाई छ।’

कूल जनसंख्याको ११ प्रतिशत अर्थात ३५ लाख बढी ज्येष्ठ नागरिक रहेकाले उनीहरुका लागि काम गर्नुपर्नेमा जोड दिए। ज्येष्ठ नागरिकप्रतिको दुव्र्यहारको प्रमुख कारण बुढ्यौली जीवनको योजना बनाउन नसक्नु भन्दै उनले अहिले युवा र प्रौढ अवस्थामा रहेकाहरुले छोराछोरी र परिवारको सँगै आफ्नो बुढ्यौली जीवनको योजना पनि बनाउन सुझाए।

संयुक्त राष्ट्रसंघीय सहश्राब्दी विकास लक्ष्यको चौथो नम्बरमा ‘एडुकेशन फर अल’ कार्यक्रम समावेश भएको चर्चा गर्दै उनले शिक्षा र प्रविधि जोडेर ज्येष्ठ नागरिकलाई सँगै लैजानुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा शिक्षाविद गोविन्द् गजुरेलले भरतमोहन अधिकारीको नाम लिने बित्तिकै ज्येष्ठ नागरिकको अनुहार अगाडि आउने बताए।

ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी भत्ताजस्ता सामाजिक सुरक्षाका सवालमा भरतमोहन अधिकारीले थालेका प्रयास अहिले समाजको अभिन्न अंग भएको गजुरेलले उल्लेख गरे। वृद्धवृद्धाका लागि मात्र नभई महिला सशक्तिकरणमा समेत भरतमोहनको योगदान रहेको चर्चा उनले गरे।

महिलाका नाममा जग्गाको रजिस्टे«शन पास गर्दा लाग्ने शुल्कमा छुट दिने भरतमोहनको नीतिले महिलालाई सम्पत्तिको मालिक बनाएको उनको भनाइ थियो।

शिक्षाविद् जनकराज तुलाधरले परिवर्तित सन्दर्भमा ज्येष्ठ नागरिकलाई प्रविधि प्रयोगमा जटिलता रहेकाले शिक्षाले घरमा सीमित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे। पाउण्डेशनकी अध्यक्ष एवं भरतमोहन अधिकारी पत्नि सविता अधिकारीले स्वर्गीय भरतमोहनमा ज्येष्ठ नागिरकप्रति ठूलो आस्था, विश्वास र सदभाव रहेको स्मरण गरिन्।

ज्येष्ठ नागिरकप्रतिको सम्मान स्वरुप ०५१ सालमा अल्पमत सरकारको अर्थमन्त्री हुँदा भरतमोहनले वृद्धभत्ताको कार्यक्रम सुरुआत गरेको बताइन्। सुरुमा सानै रकम भए पनि त्यसले देशभर वृद्धवृद्धामा राम्रो प्रभाव पारेको र अहिले मासिक तीन हजार पुगेको भन्दै उनले ०५१ यता बनेका विभिन्न दलका सरकारले उक्त कार्यक्रम हटाउन नसकेको उल्लेख गरिन्।

‘आफ्नो गाऊँ आफैं बनाऔं, गाउँगाउँमा सहकारी, घरघरमा भकारी, वृद्धभत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमले भरतमोहन जनताका बीचमा लोकप्रिय हुनुहुन्छ’, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad