सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी परेका छन्।
लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा २५ जना स्थानीय बिरामी भएका हुन्।
प्रसाद खाँदा जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दिपेन्द्र अधिकारी, सलिना तामाङ पूजा लगाउने घमबहादुर कार्की, उनकी श्रीमती, छोराछोरीसमेत बिरामी परेका छन्। उनीहरुले सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका थिए।
शुक्रबारदेखि नै उनीहरुमा पेट दुख्ने, सामान्य ज्वरो आउने समस्या देखिएको थियो । आइतबार रातिदेखि उनीहरू धमाधम अस्पताल भर्ना हुन थालेका हुन् । बिरामी भएका उनीहरूमा अत्यधिक झाडापखाला लाग्ने, वान्ता हुने, उच्च ज्वरो, पेट दुख्ने र टाउको दुख्ने समस्या देखिएको छ।
प्रसादीमा रुख कटहरको तरकारी नखानेहरू बिरामी नपरेका पाइएको स्थानीयवासी मनोजकुमार बरालले बताए। बरालको घरका तीन जना बिरामी परेका छन्।
त्यसैगरी जमुना बस्नेतको घरमा दुई, सोही घरमा कोठा भाडामा लिएर बस्ने दुई, दीपेन्द्र अधिकारी, उनकी छोरी र छोरा तथा घरभाडामा बस्ने सलिना तामाङसहित चार, पूजा लगाउने घरका चार र भाडामा बस्ने दुई, उमेश देवकोटा, लालप्रसाद शर्मासहित अरु पाँच÷छ जना छिमेकी बिरामी परेका हुन्।
बिरामी परेकाहरूको लालबन्दीको मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार भइरहेको छ। रासस
प्रतिक्रिया