समाज


कोरोना संक्रमणको कारण आमाछोराकै मृत्यु, परिवारका ८ जना संक्रमित

कोरोना संक्रमणको कारण आमाछोराकै मृत्यु, परिवारका ८ जना संक्रमित

नेपालखबर
बैशाख १९, २०७८ आइतबार २:४०,

कोरोना संक्रमणको कारण सुनसरीमा आमाछोराकै मृत्यु भएको छ। सदरमुकाम इनरुवा ३ निवासी आमाछोराको तीन दिनको फरकमा मृत्यु भएको हो।

८५ वर्षीय आमाको गएको बिहीबार र ६४ वर्षीय छोराको शनिबार दिउँसो मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। आमा छोराको मृत्यु भएको परिवारका अन्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेकै अवस्थामा बिहीबार आमाको मृत्यु भएको थियो। उनी केही दिनअघि काठमाडौंबाट घर फर्किएकी स्थानीयले बताएका छन्।

आमाको मृत्यु हुँदा सिकिस्त रहेका ६४ वर्षीय छोराको शनिबार दिउँसो कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो। आमाको मृत्यु भएकै दिन उनका छोरालाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो।

कोभिड उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार ती पुरुषमा मुटु र श्वासप्रश्वासको समस्या थियो। नोबेल मेडिकल कलेजमा पीसीआर जाँच गर्दा परिवारका आठ जनामा कोरोना संक्रमण देखिएको साहले जानकारी दिए। अन्य संक्रमितको अवस्था भने खतरामुक्त रहेको स्थानीय प्रशासनले जनाएको छ।

सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ। संक्रमण र मृत्यु बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। इनरुवामा मात्रै एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिए।

इनरुवासँगै इटहरी र धरानमा पनि कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा संक्रमितको संख्या पाँच सय नाघेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .