धन कमाउन विदेशिने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक बृद्धले काम गरेर वार्षिकरूपमा पाँच लाख आम्दानी गर्दै आएका छन्।
सिस्ने गाउँपालिका–३ पोखराका ७६ वर्षीय मनिराम बुढाले घट्टाको पाथर बेचेर वार्षिक रू पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन्। उनलाई काम गर्न उमेरले छेकेन। ७६ वर्षको उमेरमा पनि मनिरामसँग जोश र जाँगर निकै छ। बुढेसकालले छोए पनि उनी आफ्नो कामलाई निकै मन लगाएर गर्दै आएका छन।
सधैँ बिहानै उठ्ने मनिराम परिवारसँग मिलेर घरको काम सक्छन्। त्यसपछि घन, हथौँडा र छिनो बोकेर पाँच मिनेट परको राक्से भन्ने ठाउँमा पुग्छन्। बाह्र वर्षदेखि ढुङ्गासँगै मितेरी गाँस्दै बिताएका राक्सेमा उनले अहिले पनि पत्थरको घट्ट बनाउछन्। महिनामा दुई घटृ बनाउँदै आएको र वर्षमा २५ वटासम्म घट्ट तयार पार्ने गरेको र एउटा घटृलाई बढीमा रू ४० हजारसम्ममा बिक्री गर्छन्। मनिराम भन्छन्, ‘घटृ चाहियो भनेर विभिन्न ठाउँबाट माग आउँछ, मागअनुसार बनाउँछु। निर्माण गरेका सबै घटृ बिक्री हुन्छन्।’ घट्टको माग रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र बागलुङलगायत जिल्लाबाट समेत आउने गरेको उनी बताउछन्।
घरमा पनि मनिरामले गाई, बाख्रा, भैँसी, कुखुरा पालेका छन्। घरको काममा उनलाई परिवारले पनि सघाउने गरेका छन्। ‘घरधन्दा सकेर बँचेको सबै समय पाथर बनाएरै बिताउँछु। आफ्नै काम र पेशामा रमाउँदा आफूलाई बुढेसकालले छोएको अनुभवसमेत मैले गर्न पाउँदिन। घरमै गाई भैंसी पालेको छु। ताजा दूध, दही खान्छु त्यसैले पनि आफूले कमजोर महसुस नगरेकोे छैन’, उनले भने। विगत २६ वर्षदेखि पाथर बनाउँदै आएको बताउँदै मनिराम भन्छन्, ‘म र मेरो परिवारलाई खान लाउन नपुगेर ढुङ्गा फोडेको होइन, पुख्र्यौली पेशा हो। पेशाको माया लाग्छ, छोड्न मन लाग्दैन तर बनाएर राखे पनि कुहिएर खेर जाला भन्ने डर हुँदैन।’ अहिले पछिल्लो समयमा विद्युतीय मिलको प्रयोग बढदै गए पनि घटृकोे मागमा कमी नआएको उनी बताउछन्। रासस

प्रतिक्रिया