समाज


पतिको काजकिरिया ७ दिनमै सकेर ८३ वर्षीया हजुरआमाले दिइन् समाज परिवर्तन गर्ने सन्देश

पतिको काजकिरिया ७ दिनमै सकेर ८३ वर्षीया हजुरआमाले दिइन् समाज परिवर्तन गर्ने सन्देश

कालिका खड्का
बैशाख १८, २०७८ शनिबार ४:४०,

‘पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने?’ यो भनाइ काठमाडौंको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो। सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उनी सिन्दुर, चुरा, पोते र रातो परिहनमा छन्।

पतिको दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने सदियौँदेखिको प्रचलन छ। तर, सरिताले यो परम्परा तोडेको सुन्दा पत्याउन गाह्रो हुन्छ। उनी भन्छिन्, ‘सिन्दूर–पोते र चुरा पतिको सुन्दर उपहार हो । यसलाई जतन गरी लगाउनुपर्छ । श्रीमान्सँग गाँसिएको सौभाग्य उतार्नुहुन्न।’

सरिताले आफूले मात्र रातो बस्त्र लगाएर बसेकी होइनन्। छोराहरूलाई पनि सेतो बस्त्र लगाउन दिइनन्। उनका छोराहरू विमल र अमललाई सेतो बस्त्र लगाउन रोकिन्। ‘मानिसलाई जीवित छँदा राम्रो हेरचाह, माया गर्नुपर्छ’, उनले भनिन्, ‘रूढीवादी परम्पराका पछाडि लागेर बाँचेकालाई दुःख दिनुहुँदैन।’

त्यति मात्र होइन, सरिताले १३ दिनसम्म भोकै बस्दा आफ्ना सन्तान कमजोर हुन्छन् भनेर सात दिनमै काजकिरिया सक्न लगाइन् र तीन दिनबाट दुई छोरा र तीन छोरी सनम, निसम र कुसुमलाई खान भनिन्। ‘कति महिला सानै उमेरमा विधवा भएका छन्, म सन्देश दिन चाहन्छु’, उनले जोडिन्, ‘रुढीवादी परम्परा हो यो, पतिको चिनो फाल्नु पर्दैन, लगाउनुपर्छ ।’

स्व.पौडल शिक्षासेवी थिए। उनले धेरै क्याम्पस प्रमुख भएर काम गरे। उनले आफ्नो निधन हुनुअघि नै आफूलाई शवदाहगृहमा अन्तिम संस्कार गर्न परिवारसँग आग्रह गरेका थिए। अनि आफ्ना छोराहरूलाई कोरामा नबस्न आग्रह गरेका थिए।

‘आफ्नो बाबुलाई जलाउँदा सन्तालाई पीडा हुन्छ, मलाई शवदाहगृहमा जलाउनू’, पौडेलकी नातिनी प्रज्ञा पौडेल खड्काले सुनाइन्, ‘खाली ठाउँमा गएर कोरा बस्नु पर्दैन, घरमै बस्नु भन्नुभएको थियो।’

जीवनका उत्तराद्र्धमा पनि उनीहरू आफ्नो काम आफैं गरेको अनुभव प्रज्ञाले सुनाउँदै भनिन्, ‘हजुरआमा ८३ वर्षको हुनुहुन्छ, तिमीहरू आफ्नो काममा लाग, कसैलाई दुःख दिन्न, मेरो हातखुट्टा चलिञ्जेल आफैँ गरेर खान्छु भन्नुहुन्छ।’

समाजमा परम्पराअनुसार काजकिरिया गर्नुपर्छ । पति बितेका महिलालार्ई अहिले पनि रातो कपडा लगाउन हुँदैन । सिन्दुर पोले लगाउन हुँदैन भन्ने विश्वास यथावत छ । जीवनको उत्तराद्र्धमा पतिको निधनपछि गरेका क्रियाकलाप समाजका लागि सकरात्मक उदारहणका रूपमा लिन सकिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad