मकवानपुरको हेटौँडा उपमहानगरपालिका १३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक युवाको शव फेला परेको छ।
सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गालको शव फेला परेको प्रहरीले जनाएको छ। उनी सोमबार दिउँसोदेखि खाडलमा बेपत्ता थिए।
पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले गएराति अबेर उनको शव फेला पारेको हो।
यसैबीच हेटौँडा–१३ मै ३२ वर्षीया अर्का युवा मृत भेटिएका छन् । हेटौँडा–१४ कालापानीका ३२ वर्षीय जमानसिंह मोक्तानलाई बारीमा मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया