समाज


कोरोना संक्रमणबारे कमल थापाको भिडिओ सन्देश : मलाई जस्तो आपत् अरूलाई आइनलागोस्

कोरोना संक्रमणबारे कमल थापाको भिडिओ सन्देश : मलाई जस्तो आपत् अरूलाई आइनलागोस्

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ४:४३,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोरोना संक्रमणका कारण आफ्नो परिवारले भोग्नुपरेको पीडा सुनाउँदै यस्तो अरूलाई नपरोस् भन्दै भिडिओ सन्देश जारी गरेका छन्।

केही समयअघि कोरोना संक्रमित भएर आफू १० दिनसम्म आईसीयूमा बस्नुपरेको उल्लेख गर्दै उनले ३ वर्षे नातिसहित परिवारका सबै सदस्य संक्रमित हुँदा ठूलो पीडा र कष्ट भोग्नुपरेको भिडिओमा भनेका छन्।

उनी तथा उनको परिवार पहिलोपटककै कोरोना महामारीका बेला संक्रमित भएका थिए। अहिले सबै जना निको भइसकेका छन्।

अहिले कोरोना महामारीको दोस्रो लहर अझ भयावह बनेपछि राप्रपा अध्यक्ष थापाले विगतमा आफूलाई परेजस्तो पीडा कुनै पनि नेपालीको परिवारलाई नपरोस् भनेर सजगताका सुझावसहित भिडिओमार्फत चेतावनी दिएका हुन्।

‘कोरोना महामारी अत्यन्तै विकराल र डरलाग्दो भइरहेको छ,’ मंगलबार बिहान सामाजिक सञ्जालमा सेयर गरेको भिडिओ सन्देशमा उनी भन्छन्, ‘केही समयअघि म आफैं पनि कोरोना संक्रमित भएर १० दिन आईसीयूमा बस्नुपर्‍यो। मेरो परिवारको ३ वर्षे नातिदेखि लिएर सबै जना संक्रमित भयौं। त्यसबाट परिवारले धेरै ठूलो पीडा र कष्ट भोग्नुपर्‍यो।’

सचेत गराउँदै उनी सुझाव दिन्छन्, ‘यो अवस्था कुनै पनि नेपालीको परिवारमा आइनलागोस् भन्ने म चाहन्छु। त्यसर्थ यसबाट बच्नको निमित्त सरकारको मात्र भर नपरी हामीले आफ्नो नागरिक दायित्त्व पनि निर्वाह गर्नुपर्छ।’

मास्क देखाउँदै उनले अगाडि भनेका छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै मास्कको प्रयोग हो। घरबाट बाहिर निस्किँदा प्रत्येकले अनिवार्य मास्क लगाऔं, भौतिक दूरी कायम राखौं, साबुनपानीले मिचीमिची हात धोऔं। यति काम हामीले गर्न सक्यौं भने आफू, आफ्नो परिवार, समाज र राष्ट्रलाई कोरोनाबाट मुक्त तुल्याउन सक्दछौं। म यसैका निमित्त अनुरोध गर्न चाहन्छु।’ 

सुन्नुहोस्, भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad