समाज


मास्क प्रयोग नगरे ५० रुपैयाँ जरिवाना

मास्क प्रयोग नगरे ५० रुपैयाँ जरिवाना

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १६:१६,

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले आजदेखि महेन्द्रनगरमा मास्क बिना हिँडडुल गर्नेलाई कारबाही थालेको छ।

पहिलो दिन आज बजार क्षेत्रमा मास्क बिना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ। कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

‘तपाईंको मास्क खै? अनिवार्य मास्क लगाउनु है’, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ।

शुरुमा प्रहरीले ८०-९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ।

दुई संक्रमितको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेका छन्। उपचारका क्रममा आज दुवै जनाको महाकाली अस्पतालमा मृत्यु भएको हो। कोरोना संक्रमणपछि दुवै जनालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो।

बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु भइसकेको महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए। उनले हाल अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको जानकारी दिए।

त्यसैगरी, यहाँको गड्डाचौकी नाकाबाट भारत जान आज बिहानदेखि रोक लगाएको छ। भारतमा कोरोना संक्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए। उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए।

‘अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन्’, प्रहरी नायब उपरीक्षक गुरुङले भने, ‘आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ।’ स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ।

त्यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना संक्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad