समाज


पत्रकार महासंघ ललितपुरले अल्प, मध्य र दीर्घकालीन योजनाअनुसार काम गर्छः अध्यक्ष न्यौपाने

पत्रकार महासंघ ललितपुरले अल्प, मध्य र दीर्घकालीन योजनाअनुसार काम गर्छः अध्यक्ष न्यौपाने

नेपालखबर
बैशाख ११, २०७८ शनिबार १८:१,

नेपाल पत्रकार महासंघ, ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ।

शनिबार पदबहाली गरेपछि बसेको पहिलो बैठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई काम गर्ने निर्णय गरेको अध्यक्ष सागर न्यौपानेले जानकारी दिए।

त्यसका लागि विज्ञ टोली, महासंघका सल्लाहकार, तीनवटै निर्वाचन क्षेत्रका सांसद र जिल्लाका छवटै स्थानीय तहसँग सुझाव र सल्लाह लिएर कार्ययोजना बनाइने अध्यक्ष न्यौपानेले बताए।

‘ललितपुर पत्रकार महासंघ शाखाले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने निर्णय गरेको छ, विज्ञ, जनप्रतिनिधि, सांसद र अनुभवी पत्रकारको सहयोग लिएर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी सोही आधारमा काम गरिनेछ’, न्यौपानेले भने।

महासंघले जिल्लामा रहेका महिला पत्रकार र सञ्चारमाध्यममा महिलाको स्थिति समेत अध्ययन गर्ने निर्णय गरेको छ। यस्तै कोरोनाको कारण जिल्लाका सञ्चारगृहमा कार्यरत पत्रकारले भोगेका समस्या, र मिडियाको अवस्थाबारेको अध्ययन गरेर प्रतिवेदन बनाउने भएको छ।

सचिव रामहरी कार्कीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति बनाएको हो। सो प्रतिवेदनलाई पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र सूचना विभागमा अध्ययन गर्न पठाइने न्यौपानेको भनाइ छ।

यस्तै पत्रकार महासंघ ललितपुरले जिल्लामा रहेका सबै सदस्यको डिजिटल प्रोफाइल बनाउने भएको छ। जिल्लामा चार सय ५४ सदस्य रहेका छन। सदस्य कार्यरत मिडियासहितको डिजिटल प्रोफाइल बनाउन लागिएको हो।

पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राज्यसँग सम्झौताविहीन संघर्ष गर्ने बताए। अहिले ल्याइएका कतिपय विधेयक नेपालको संविधानविरुद्धमा रहेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने बताए।

कोरोनाको कारण देखाउदै मिडियामा कार्यरत पत्रकार निकाल्ने काम भए महासंघ चुप नबस्ने उनको भनाइ छ। महासंघलाई एकेडेमिक रूपमा अगाडि बढाइने पोखरेलले बताए।

ललितपुर पत्रकार महासंघले जिल्लाबाट चार दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरेका प्रभुनारायण बस्नेत, डाक्टर अष्टमान किसी महर्जन, बटुकृष्ण कार्की, राधा बुढाथोकी र माधव नेपाललाई सम्मान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad