भारतका प्रख्यात् उद्योगपति मुकेश अम्बानीको घरनजिक विस्फोटक पदार्थले भरेर गाडी राखिएको प्रकरणमा मुम्बईका अर्का प्रहरी अधिकारी पक्राउ परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अम्बानीको घरनजिक विस्फोटक पदार्थसहितको गाडी तथा त्यही गाडीका मालिक भनिएका मनसुख हिरेनको हत्या भएको घटना अनुसन्धान क्रममा शुक्रबार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मुम्बई प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल मानेलाई गिरफ्तार गरिएको हो।
उनीसमेत मुम्बई प्रहरी कार्यालयका ३ प्रहरी पक्राउ परिसकेका छन्। यसअघि सहायक प्रहरी निरीक्षक सचिन वझे र उनका सहकर्मी रियाज काजीलाई पक्राउ गरिसकिएको छ।
एनआईएका एक अधिकारीका अनुसार अम्बानीप्रति असुरक्षा सिर्जना गर्ने र मनसुन हिरेन हत्या सम्बन्धमा प्रहरी निरीक्षक मानेलाई बिहीबार बयानका लागि बोलाइएको थियो। त्यस क्रममा घटनामा उनको संलग्नता देखिएपछि गिरफ्तार गरिएको हो। पक्राउपछि मानेलाई स्वास्थ्य परीक्षणका लागि सरकारी अस्पताल लगिएको छ।
गत फेब्रुअरी २५ तारिखका दिन उद्योगपति अम्बानीको घरनजिक जिलेटिन (विस्फोटक पदार्थ) हालेर स्कार्पियो गाडी छाडिएको थियो। जुन गाडीको मालिक आफू भएको बताउने ठाणेका व्यवसायी मनसुख हिरेनको पनि केही दिनपछि हत्या भएको थियो। आफ्नो त्यो गाडी कसैले चोरी गरेर लगेको बताएका उनको शव मार्च ५ तारिखमा नालाछेउ भेटिएको थियो।
यी पनि :
अम्बानीको घरनजिक विस्फोटक पदार्थ राखिएको प्रकरणमा नयाँ खुलासा
खुल्दै अम्बानी प्रकरणको रहस्य, नदीभित्र भेटिए प्रहरी अधिकारी वझेले फालेका विभिन्न प्रमाण
Shares

प्रतिक्रिया