समाज


कोभिसिल्डको दोस्रो डोज आजदेखि, काठमाडौंमा यी हुन् खोप लगाउने १९ केन्द्र

कोभिसिल्डको दोस्रो डोज आजदेखि, काठमाडौंमा यी हुन् खोप लगाउने १९ केन्द्र

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १:३९,

कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा (डोज) लिएकाहरूलाई आजदेखि दोस्रो डोज दिइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा पहिलो डोज लिएका अग्रपंक्तिमा खटिएकाहरूलाई आजबाट दोस्रो मात्र दिन लागिएको हो। वैशाख ११ गतेसम्ममा ४ लाख ३८ हजार नागरिकलाई कोभिसिल्डको दोस्रो मात्रा लगाइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पुरानो खोप कार्ड तथा परिचय झल्कने अन्य कार्ड लिएर आफूलाई पायक पर्ने खोप केन्द्रमा गई दोस्रो मात्रा खोप लगाउन मन्त्रालयले आह्वान गरेको छ।

पाँच दिनसम्म जारी रहने दोस्रो मात्राको खोप अभियानमा माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई वैशाख ७ गते खोप लगाउने तालिका छ।

यस्तै माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले १० गते तथा माघ ३०, फागुन ७ र १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका मन्त्रालयले बनाएको छ।

यसैबीच काठमाडौंको स्वास्थ्य कार्यालयले दोस्रो मात्राको खोप दिन १९ केन्द्र तोकेको छ।

कार्यालयका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा खोप लगाउन सकिनेछ।

यस्तै नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्यान्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप दिइने कार्यालयले जनाएको छ। खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ।

dosrodoj

भारतले सुरुमा अनुदान दिएको १० लाख, खरिद गरिएको १० लाख र कोभ्याक्स सुविधामार्फत प्राप्त साढे ३ लाख गरी नेपालमा साढे २३ लाख डोज कोभिसिल्ड भित्रिएको थियो। जसमध्ये पहिलो मात्राअन्तर्गत १६ लाख ७३ हजार डोज प्रयोग भइसकेका छन्।

बाँकी ६ लाख डोज अहिले दोस्रो मात्राका रूपमा प्रयोग गर्न लागिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिलो डोजले केही मात्रा मात्रै काम गर्छ। दोस्रो डोज थपेपछि ७२ देखि ८० प्रतिशतमा काम गर्छ।

‘एक डोज मात्रै लगायो भने एन्टिबडी केही महिनामा हराएर जान्छ,’ उनले भने, ‘पहिलो डोज लगाएकाले दोस्रो डोज लगाएन भने कोभिड लाग्ने सम्भावना बढेर जान्छ। त्यही भएर दोस्रो लगाउनुपर्छ।’

चिनियाँ खोप
यस्तै चीन सरकारले पनि नेपाललाई कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ ८ लाख डोज खोप अनुदान दिएको छ।

जुन खोप सोमबारसम्म १ लाख २३ हजार जनालाई दिइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाञ्चोकका ४० देखि ५९ वर्षसम्मका १ लाख २३ हजार नागरिकलाई भेरोसेल खोप लगाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad