समाज


जुम्लाका स्कुले बालबालिकामा रुघाखोकी र ज्वरोको प्रकोप

जुम्लाका स्कुले बालबालिकामा रुघाखोकी र ज्वरोको प्रकोप

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ३:४९,

जुम्लामा रुघाखोकी र ज्वरोले बालबालिका प्रभावित हुन थालेका छन्। रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ।

रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या बढेपछि कोरोना महमारी हो कि भनेर स्थानीयवासीले शङ्का गर्न थालेका छन्। जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्लास्थित कालिका माविमा अध्ययनरत ४० प्रतिशतमा विद्यार्थीमा यस्तो समस्या देखिएको छ।

एक हप्तादेखि विद्यार्थीमा रुघाखोकी र ज्वरोको अत्यधिक प्रभाव देखिएको प्रधानाध्यापक मानबहादुर शाहीले बताए। ‘यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या छ,’ उनले भने, ‘शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको पाँचजना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ।’

जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई औषधि दिएर फर्केको बताए।

‘धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौँ। त्यहाँ प्रदूषित हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ,’ उनले भने। उनीहरुलाई एक हप्तासम्म घरमै बस्ने, बाहिर ननिस्कने सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्केको छ।

विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताए। सकेसम्म शिविर सञ्चालन गर्ने बताउँदै अध्यक्ष शाहीले बालबालिकाका साथै सबै उमेर समूहका मानिसमा यो समस्या देखिएको जानकारी दिए। यस्तै समस्या जनजागृति मावि ताम्ती जुम्लामा पनि देखिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ ड.सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरो बिरामी बढेको बताए। ‘यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुन्न । हरेकले संवेदनशीलता अपनाउन जरुरी छ,’ उनले भने।

मौसम बदलिएसँगै जुम्लाको भेरीखोला, सिञ्जा र चौधबीस क्षेत्रमा ज्वरोका बिरामी बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad