नेपाली बालबालिकालाई आफुले जन्माएको नक्कली कागजपत्र बनाएर बेलायत लैजान खोज्ने महिलाका मुख्य सहयोगी बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल भएको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले डंगोललाई तस्करीमा सघाएको आरोपमा बुधबार पक्राउ गरेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालबाट बालबालिकालाई आफ्नो सन्तान भएको दाबी सहित बिदेश तस्करीगर्ने गिरोहलाई सघाउने डंगोल परिसरको नियन्त्रणमा रहेको बताए। उनले डंगोल बिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान म्याद लिएर कारबाही सुरु भएको बताए।
नेपालमा पर्यटक बनेर साउन ११ मा नेपाल प्रवेश गरेकी बेलायती महिला डिना स्मिथलाई एउटा नवजात बालिका सहित बेलायत जानबाट अध्यागमन विभागले रोकेपछि घटनाको अनुसन्धान सुरु भएको थियो।
उनले ललितपुरको महालक्ष्मी नगरपालिकाबाट शिशुको जन्मदर्ता प्रमाणपत्र साउन १२ मा भएको प्रमाण सहित प्रस्थान अनुमति मागेकी थिईन। अध्यागमनले यो घटना स्वभाविक नभएको भन्दै उनलाई प्रस्थान अनुमति नदिई अनुसन्धान थालेको थियो।
अध्यागमनको अनुसन्धानमा गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजान खोजेको खुलेपछि प्रहरी समेतको सहयोगमा छानबिन सुरु भएको थियो।
Shares

प्रतिक्रिया