नेपाली राष्ट्रिय भलिबल टोलीले ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको खेलमा अफगानिस्तान भलिबल टिमलाई ३–२ को सेटमा पराजित गरेको हो।
पहिलो सेट गुमाएको नेपालले दोस्रो, तेस्रो र पाँचौं सेटमा उत्कृष्ट पूनरामगनका साथ जित हात पारेको हो। घरेलु दर्शक सामु पहिलो सेट नेपालले २२–२५ को झिनो अन्तरले हारेको थियो।
दोस्रो सेटमा २५-१७ र तेस्रो सेट २५-२१ ले जितेको नेपालले चौथो सेट भने २५–२३ ले गुमाएपछि खेल रोमाञ्चक बनेको थियो। यस्तै निर्णायक सेटमा नेपाल १५–१३ ले विजयी रह्यो।
भदौं २ गतेबाट नेपालमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपाल र अफगानिस्तानले मैत्रीपूर्ण खेल खेलेका हुन्। नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहिबार हुनेछ।
एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
यही च्याम्पियनसिपमा नेपालले दुई वर्षअघि माल्दिभ्समा भएको काँस्य पदक जितेको थियो। नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एकमात्र पदक हो।
नेपालले नेदरल्याण्डका प्रशिक्षक हान एबिङलाई असार पहिलो साता नेपाल झिकाएर आफ्नो तयारी सुरु गरेको हो।
एबिङले यसअघि नै इमबहादुर रानाको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेका छन्। टोलीमा इमसँगै हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन्।

प्रतिक्रिया