काठमाडौंको माइतीघर मण्डलामा राष्ट्रिय झण्डा दिवस मनाइएको छ। नेपाली चलचित्र क्षेत्रकी सदाबहार एवं महानायिका करिष्मा मानन्धरको प्रमूख आतिथ्यतामा राष्ट्रिय झण्डा दिवस मनाइएको हो।
कार्यक्रममा अभिनेत्री मानन्धरले राष्ट्रिय झण्डाको महत्वबारे आफ्नो विचार राखेकी थिइन्।
उनले भनिन्, ‘मानव जीवनको सार्थकताका लागि साहस, शान्ति र गम्भीरता हुनु आवश्यक छ। मानव जीवन मात्रै होइन, राष्ट्रको चरित्र पनि यस्तै हुनुपर्छ। हाम्रो झण्डा त्रिकोणात्मक छ। त्रिकोणले हिमालका चुचुरालाई जनाउँछ। त्रिकोणले हाम्रो देशको भौगोलिक संरचनालाई पनि जनाउँछ, हिमाल, पहाड, तराई। त्रिकोण झण्डाको भुइँमा रातो रंग मिसिएको छ। तसर्थ, यसले आगोलाई पनि जनाएको छ।
उनले थपिन्, ‘आगोको अध्यात्मिक अर्थ ईश्वर हो, भौतिक अर्थ उर्जा र ताप हो। यसको सदुपयोग भयो भने प्राणीको हित गर्छ र दुरुपयोग भयो भने प्राणीको नाश गर्छ। गहिरिएर हेर्दा, नेपालको झण्डा जीवन र जगतको प्रतिविम्ब झैँ देखिन्छ। निलो रंग आकाशको प्रतीक, आकाश गम्भीरता, रहस्य, शून्यता र मोक्षको प्रतीक। रातो रंग सौर्यको प्रतिक। सौर्य साहस र सौभाग्यको प्रतिक। सेतो रंग शान्ति र पवित्रताको प्रतीक, अहिंसाको प्रतिक सूर्य उर्जाको प्रतीक। साहस र दिनको प्रतिक। चन्द्रमा शीतलताको प्रतीक। आनन्दको प्रतीक। पौष्टिकता र आयुको प्रतीक अनि हामी सबै नेपालीको एकताको प्रतीक।’
कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणी पौड्याललगायत अभियन्ताहरुको सहभागिता रहेको थियो।
नेपालमा केही वर्षयता हरेक वर्ष वैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउने प्रचलन छ। आज राजधानीलगायत विभिन्न स्थानमा झण्डा दिवस मनाइएको छ।

प्रतिक्रिया