स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ।
आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पुर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन। सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयम्ले पनि सुरक्षाको उपाय-सावधानी अपनाएको देखिएन। तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन।
यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ। मास्क लगाउने, दूरी कायम गर्ने, कुनैपनि सुरक्षा सावधानीको उपायको न्युनतम रुपमा पनि प्रयोग भएको छैन। यात्रुहरु बिना मास्क कुनै भौतिक दूरी कायम नगरी जोखिमपूर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन्।
यता, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। सरकारले जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनेमा हल, विद्यालय, भिडभाड हुने कार्यक्रम लगायतको काम बन्दको सिफारिस गरेको छ।
अहिले देखिएको भाइरस पहिले भन्दा बढी संक्रामक देखिएको विभिन्न अनुसन्धानहरुले देखाएको छ। सरकारले सावधानी अपनाउन भनेपनि काठमाडौँ उपत्यका भित्रिने नाकाको चेक जाँच कडाइ फितलो देखिएको हो।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले अस्पतालमा संक्रमित संख्या बढ्दै गएको र विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था आउन सक्ने बताएका छन्।
Shares

प्रतिक्रिया