सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई गाली गरेको आरोपमा पक्राउ परेका पाँचथरका एक युवक जेल चलान भएका छन्।
फेसबुक, टिकटक, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा प्रधानमन्त्री शाह र उनको परिवारलाई लक्षित गरेर अपमानजनक र अमर्यादित सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल जेल चलान भएका हुन्।
पाँचथर जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री र उनको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत् गालीगलौज तथा अश्लील सामग्री प्रसारण गरेको आरोपमा गत चैत २६ गते उनी पक्राउ परेका थिए।
युट्युबर पोखरेल विरुद्ध प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो। गत चैत २६ गते पक्राउ परेका पोखरेल विरुद्ध केही दिनअघि पाँचथर जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको थियो।
जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले गत असार १८ गते पोखरेलको मुद्दामा सुनुवाइ गर्दै तत्काल पुर्पक्षको लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका सूचना अधिकारी सरस्वती नेम्वाङले जानकारी दिइन्।
सूचना अधिकारी नेम्वाङका अनुसार ’हदेस जङ्गल’ नामक फेसबुक, टिकटक र इन्स्टाग्राम आइडी प्रयोग गरी प्रधानमन्त्री र उनको परिवारको मान–सम्मान तथा प्रतिष्ठामा आँच आउने गरी विभिन्न भिडियो, स्ट्याटस र अमर्यादित शब्दहरू पोस्ट गरिएको मिसिलबाट देखिएको छ।
सामाजिक सञ्जालमा देखिएका तिनै विवादित सामग्री र भिडियोहरूलाई पुष्टि गर्दै पोखरेलले अदालतमा बयान दिएका थिए। प्रहरीले पोखरेलको साथबाट घटनामा प्रयोग भएको मोबाइल फोन, सिम कार्ड, पिन कार्ड र पेन ड्राइभ समेत बरामद गरी अदालतमा पेस गरेको थियो।
अदालत स्रोतका अनुसार, बयानका क्रममा पोखरेलले आफूले कसैलाई मनसायपूर्वक हानि–नोक्सानी पुर्याउने उद्देश्यले नभई सामाजिक सञ्जालमा लाइक, कमेन्ट र भ्युज बढाउनका लागि मात्र त्यस्ता भिडियो र स्ट्याटसहरू सेयर गरेको स्वीकार गरेका छन्।
यद्यपि, बरामद भएका डिजिटल प्रमाण, सामाजिक सञ्जालका सामग्री र घटना विवरण कागज गर्ने व्यक्तिहरूको भनाइका आधारमा पोखरेललाई हालकै अवस्थामा निर्दोष रहेछन् भनी भन्न नसकिने ठहर अदालतले गरेको छ।
सोही प्राप्त प्रमाणहरूलाई मुख्य आधार मान्दै अदालतले अभियुक्तलाई थुनामा राखेरै मुद्दाको थप कानुनी प्रक्रिया अघि बढाउन असार १८ गते नै कारागार चलान गर्ने आदेश दिएको सूचना अधिकारी नेम्वाङले जानकारी दिइन्।
Shares

प्रतिक्रिया