ad ad

समाज


अध्ययनको निष्कर्ष : रुघा लगाउने भाइरसले कोभिडलाई शरीरबाट गलहत्याइदिन्छ

अध्ययनको निष्कर्ष : रुघा लगाउने भाइरसले कोभिडलाई शरीरबाट गलहत्याइदिन्छ

नेपालखबर
चैत २०, २०७७ शुक्रबार २:३९,

रुघा लगाउने भाइरसले मानिसको शरीरका कोषहरूबाट कोरोनाभाइरसलाई गलहत्याइदिन सक्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।

मानवकोषमा आफूले सङ्क्रमण गर्ने प्रयासमा भाइरसहरूबीच प्रतिस्पर्धा हुने गर्छ। यूनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार रुघा लगाउने राइनोभाइरसले कोरोनाभाइरसलाई पराजित गरेको पाइएको छ।

तर त्यसको लाभ छोटो समयका लागि मात्र हुन सक्छ। राइनोभाइरस धेरै फैलिएको हुनाले त्यसले कोभिडलाई दमन गर्न सहयोग गर्ने वैज्ञानिकहरुको भनाई छ।

कोरोनाभाइरस कसरी पराजित हुन्छ?
तपाईँ आफ्ना नाक, घाँटी र फोक्सोका कोषहरूलाई लहरै बसेका घर भन्ठानूस्। एउटा भाइरस एकचोटि भित्र छिरेपछि त्यसले अरू भाइरसलाई भित्र प्रवेश गर्न दिन या त ढोका खोलिदिन्छ या ढोका बन्द गरेर त्यहाँ आफू मात्र बस्न खोज्छ।

रुघाको कारक इन्फ्लूएन्जा भाइरस एकदमै स्वार्थी हुन्छ र त्यसले प्रायः एक्लै सङ्क्रमण गर्छ। एडिनोभाइरसजस्ता अरू भाइरसहरू अरूसँग मिलेर सङ्क्रमण गर्छन्।

ग्लास्गोस्थित सेन्टर फोर भाइरस रिसर्चको अनुसन्धान टोलीले मानिसको श्वासनलीको प्रतिकृति प्रयोग गरेर एउटा अध्ययन गर्‍यो। त्यसका लागि उस्तै खालका मानवकोषहरू प्रयोग गरिएको थियो। ती कोषलाई सार्स कोभ २ भाइरस र राइनोभाइरसबाट सङ्क्रमित पारियो।

एकैचोटि राइनोभाइरस र सार्स कोभ २ को संसर्ग गराइँदा कोषमा केवल रुघा लगाउने राइनोभाइरसले सङ्क्रमण गर्न सक्यो। चौबीस घण्टाअगाडि नै राइनोभाइरस प्रवेश गरेको कोषमा कोरोनाभाइरसले प्रभाव पार्ने अवसर नै पाएन। यदि कोरोनाभाइरस २४ घण्टाअगाडि नै संसर्गमा आएको छ भने पनि राइनोभाइरसले त्यसलाई कोषबाट निकालिदिन्छ।

सार्स कोभ २ फैलिन सक्ने क्षमतालाई राइनोभाइरसले रोकिदिने डा.पाब्लो मर्सियाले जानकारी दिए। ‘यो एकदमै उत्साहप्रद छ किनभने राइनोभाइरसको आधिक्य छ भने त्यसले सार्स कोभ २ को सङ्क्रमण रोक्न सक्छ,’ उनले भने।

पहिला पनि यस्ता प्रभावहरू देखिएका थिए। सन् २००९ मा राइनोभाइरस फैलिन थालेपछि युरोपका केही भागमा स्वाइन फ्लू महामारीको गति सुस्त भएको थियो। थप प्रयोग र परीक्षण गर्दा राइनोभाइरसबाट सङ्क्रमित कोषमा रोग प्रतिरोध गर्ने क्षमता बढेको र त्यसले कोरोनाभाइरसको सङ्ख्या वृद्धि गर्ने क्षमता अवरुद्ध भएको देखिएको छ।

वैज्ञानिकहरूले त्यस्तो प्रतिरोधात्मक प्रतिकार्यलाई रोकेर हेर्दा कोभिड गराउने भाइरसको तह राइनोभाइरस नभएको अवस्थामा जस्तै बढेको पाए। तर रुघा निको भइसकेपछि तथा राइनोभाइरसको प्रतिरोधात्मक प्रतिकार्य निस्तेज भइसकेपछि कोभिड हुने सम्भावना कायम रहन्छ।

‘खोप, सरसफाइका उपाय अनि भाइरसहरूबीच हुने अन्तर्क्रियाले सार्स कोभ २ ठूलो मात्रामा घटाउन सक्छ। तर खोपबाट नै अधिकतम प्रभाव पर्छ,’ मर्सियाले भने। बिबिसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .