समाज


खोटाङमा प्रदेशकै कम पत्रकार, झण्डै आधाको सदस्यता खारेज

खोटाङमा प्रदेशकै कम पत्रकार, झण्डै आधाको सदस्यता खारेज

नेपालखबर
चैत १५, २०७७ आइतबार १२:५१,

खोटाङमा पत्रकारिता बाहेक अन्य पेशामा लागेकाको सदस्यता खारेज गरिएसँगै प्रदेशकै कम संख्यामा पत्रकार छन्। गत वर्षको भन्दा झण्डै आधा संख्यामा पत्रकारको सदस्यता खारेज गरिएको महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईले बताए।

पहिले ३३ जना सदस्य रहेको खोटाङमा १५ जनाको सदस्यता खारेज गरिएको छ। यस पटक नयाँ ८ जना थप गर्दा जम्मा सदस्य संख्या २६ जना मात्रै छ। यो संख्या प्रदेश नं १ कै कम हो। पत्रकार महासंघको निर्वाचनमा आफू अनुकुल बनाउन सदस्यता संख्या थप गर्ने प्रचलन तोड्दै खोटाङमा भने सुद्धिकरण गर्दै संख्या घटाइएको छ।

पत्रकार महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा पत्रकार संगठनका प्रमुख, पत्रकार महासंघका सल्लाहकार, अग्रज पत्रकारसँग परामर्श गरेरै टुंगो लगाइएको अध्यक्ष राईले बताए। पूर्ण शुद्धिकरणका लागि अझै पनि केही संख्या घटाउन जरुरी रहेको उनले बताए।

महासंघका अनुसार भोजपुरमा ४६, धनकुटामा १५५, इलाममा १७६, झापामा २६३, मोरङमा २०४, ओखलढुंगामा ५०, पाँचथरमा ८५, संखुवासभामा ३९, सोलुखुम्बुमा ६६, सुनसरीमा २६२, तप्लेजुङमा ६०, तेह्रथुममा ८२ र उदयपुरमा १०१ जना सदस्य छन्।

खोटाङमा भने सदस्यका लागि आवेदन दिएका मध्य आधा संख्यालाई मात्रै सदस्यता दिइएको छ। १४ जनाले आवेदन दिएकामा ८ जनाले मात्रै सदस्यता पाएका हुन्।

अन्य पेशाका व्यक्तिलाई पनि सदस्यता दिएर पत्रकारिता पेशाकै बदनाम भएको भन्दै सदस्यता बढाउने होडमा पेशा बदनाम गर्न नहुने अध्यक्ष राईले बताए।

देशका कतिपय जिल्लामा गैर पत्रकारलाई सदस्यता वितरण गरिएको भन्दै यतिबेला पत्रकारले नै गुनासो गरिरहेका छन्।

नेपाल पत्रकार महासंघको चुनाव आगामी चैत २५ गते हुँदैछ। चुनावमा यस पटकदेखि सदस्यता लिएका सबैले महासंघका सबै तहमा मतदान गर्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .