नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा ११ संगठनबीच तालमेल गर्ने सहमति भएको छ।
शुक्रबार ११ संगठनबीच भएको बैठकबाट गठनबन्धन गर्ने निर्णय भएको हो।
महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन्।
बैठकपछि जारी विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विद्येयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ।
यस्तै, विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति आपत्ति समेत जनाइएको छ।
११ संगठनको साझा विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत जनाइएको छ।
गठबन्धनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज रहेका छन्।


प्रतिक्रिया